काठमाडौं । कीर्तिपुरस्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ स्कुलमा भएको भनिएको आर्थिक अनियमितता प्रकरणमा सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) कल्पना गुरुङ पक्राउ परेकी छन्।
विद्यालयमा लेखा प्रमुखका रूपमा कार्यरत गुरुङसँगै उनका सहयोगी लीला लामालाई पनि प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार उनीहरूलाई शनिबार ठमेलबाट पक्राउ गरिएको हो।
विद्यालयमा भएको आर्थिक अनियमितताबारे सशस्त्र प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन गरिरहेको थियो। सोही आधारमा सशस्त्र प्रहरीको पत्रपछि काठमाडौं प्रहरीले दुवै जनालाई पक्राउ गरी ठगी र आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
उजुरीअनुसार विद्यालयको बैंक खातामा हुनुपर्ने रकम व्यक्तिगत खातामा जम्मा गरी दुरुपयोग गरिएको आरोप छ। विगत चार वर्षको अवधिमा करिब साढे ४ करोड रुपैयाँ व्यक्तिगत खातामा राखेर अनियमितता गरिएको दाबी गरिएको छ। प्रारम्भिक अनुसन्धानमा इन्स्पेक्टर गुरुङको मुख्य भूमिका रहेको आशंका गरिएको छ।
गुरुङ विगत छ वर्षदेखि एपीएफ स्कुलको लेखा शाखामा कार्यरत रहेकी छन्। सशस्त्र प्रहरी नायब निरीक्षक (सई) हुँदा लेखा शाखामा खटिएकी उनी इन्स्पेक्टरमा बढुवा भएपछि पनि लगातार चार वर्षसम्म सोही जिम्मेवारीमा कार्यरत रहेको खुलेको छ। घटनाबारे सशस्त्र प्रहरी प्रधान कार्यालयले पछिल्ला चार आर्थिक वर्षको बैंकिङ कारोबारको विवरण माग गरी छानबिन अघि बढाएको थियो।
प्रकरणमा प्रधान कार्यालयका केही अधिकृतको समेत संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको स्रोतले जनाएको छ। कल्याण महाशाखामा कार्यरत लेखापाल डीएसपी महेन्द्र हमाल पनि छानबिनको दायरामा रहेका छन्। एपीएफ स्कुल सशस्त्र प्रहरीको कल्याण कोषको बजेटबाट सञ्चालन हुँदै आएको छ।
विद्यालयमा भएको भनिएको अनियमितताबारे जानकारी हुँदाहुँदै पनि डीएसपी हमालले संगठनलाई समयमै जानकारी नदिई विषयलाई गोप्य राखेको आरोप पनि लागेको छ।
यसअघि २०८२ मंसिरमा पनि विद्यालयको रासन व्यवस्थापनमा अनियमितता भएको आरोप लगाउँदै विभिन्न निकायमा उजुरी दर्ता भएको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com