info@nawayug.com

विद्याको चीन भ्रमणमा किन भएन राजनीतिक भेटवार्ता ?

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएलगत्तै चीन भ्रमणमा गएपछि त्यसलाई लिएर विभिन्न राजनीतिक अड्कलबाजी भएका थिए । उनको भ्रमणलाई नेपालको आन्तरिक राजनीतिक घटनाक्रम र वामपन्थी एकताको सम्भावनासँग जोडेर समेत विश्लेषण गरिएको थियो । तर, कात्तिक ५ देखि ९ गतेसम्म भएको भ्रमणका क्रममा भण्डारीले कुनै राजनीतिक भेटवार्ता र छलफल नगरेको बताइएको छ ।

भण्डारीसँगै चीन भ्रमणमा गएका टोलीका एक सदस्यका अनुसार यसपटकको भ्रमण विशुद्ध गैरराजनीतिक प्रकृतिको थियो । चीनको हपेई प्रान्तस्थित स्योङआनमा आयोजित ‘ग्लोबल गभर्नेन्स फोरम’मा विशिष्ट अतिथिका रूपमा सहभागी हुन भण्डारी चीन गएकी थिइन् ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को केन्द्रीय कमिटी बैठक र आगामी वर्ष हुने चिनियाँ कांग्रेसको तयारीका कारण पनि राजनीतिक भेटघाटमा चासो नदेखाइएको हुन सक्ने भ्रमण टोलीका सदस्यको भनाइ छ ।

कात्तिक ९ गते स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले आफू सम्मेलनमा सहभागी हुन चीन गएको स्पष्ट पारेकी थिइन् । सम्मेलनमा आफूले उठाएका विषय सार्वजनिक भइसकेको उनको भनाइ थियो ।

भण्डारीको टोलीका एक सदस्यले पनि विभिन्न देशका प्रतिनिधिहरूसँग सामूहिक भेटघाटबाहेक व्यक्तिगत तथा राजनीतिक भेटवार्ता नभएको दाबी गरेका छन् । सम्मेलनमा चिनियाँ विदेशमन्त्री वाङ यी सहभागी भएकाले सामूहिक शिष्टाचार भेटवार्ता हुनु स्वाभाविक भए पनि छुट्टै राजनीतिक छलफल नभएको उनको भनाइ छ ।

अक्टोबर २३ देखि २५ सम्म ‘परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ विषयमा आयोजित सम्मेलनमा करिब १२० देशका झन्डै २०० प्रतिनिधि सहभागी थिए । सम्मेलनमा विभिन्न मुलुकका पूर्वराष्ट्रप्रमुख, पूर्व तथा बहालवाला मन्त्री र कूटनीतिक मामिलाका विज्ञहरूको सहभागिता थियो । भण्डारीले सम्मेलनमा विशिष्ट अतिथिका रूपमा सम्बोधन गरेकी थिइन् ।

सम्बोधनका क्रममा उनले जलवायु परिवर्तन, खाद्य असुरक्षा, असमानता, गरिबी र भूराजनीतिक तनावजस्ता साझा चुनौती समाधान गर्न संवाद, सहकार्य र सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएकी थिइन् ।

उनले नेपाल–चीन सम्बन्धको ऐतिहासिक आदानप्रदान स्मरण गर्दै पञ्चशीलका सिद्धान्तमा आधारित पारस्परिक सम्मान, विश्वास र सहकार्यको महत्त्व उल्लेख गरेकी थिइन् । साथै, एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै सार्वभौम समानता तथा एकअर्काको स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मानले राष्ट्रहरूबीचको मित्रता दिगो बनाउने धारणा राखेकी थिइन् ।

चीनबाट फर्केपछि भण्डारीसँग भेट गरेका एमालेका एक नेताले उनको भनाइ उद्धृत गर्दै यसपटकको भ्रमणमा कुनै राजनीतिक उद्देश्य वा एजेन्डा नरहेको र राजनीतिक प्रकृतिका बैठक, भेटघाट तथा छलफलसमेत नभएको बताएका छन् ।

भण्डारीलाई आयोजकले एमालेको वरिष्ठ नेताको हैसियतमा भन्दा पनि पूर्वराष्ट्रप्रमुखका रूपमा सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरेको बताइएको छ । आयोजकले गत जेठमै उनलाई निमन्त्रणा पठाएको थियो । एमालेको असोजमा सम्पन्न केन्द्रीय कमिटी बैठकले भने उनलाई वरिष्ठ नेताका रूपमा मनोनीत गरेको थियो ।

यसअघि भण्डारी २०८२ जेठमा पनि चीन भ्रमणमा गएकी थिइन् । त्यसयता नेपालको राजनीतिक परिस्थितिमा परिवर्तन आएको छ । २०८२ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कम्युनिस्ट नेताहरूलाई चीनबाट विगतको तुलनामा कम निमन्त्रणा आउने गरेको चर्चा पनि हुँदै आएको छ ।

नेपालमा कम्युनिस्ट पार्टीहरूको राजनीतिक प्रभाव कमजोर बनेको अवस्थाले चीनको प्राथमिकतामा समेत असर पारेको हुन सक्ने विश्लेषण गरिएको छ । यसका अतिरिक्त चीनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा चासो देखाउँदै आएको छ ।

समग्रमा, भण्डारीको चीन भ्रमणलाई नेपालको राजनीतिसँग जोडेर विभिन्न अड्कलबाजी गरिए पनि भ्रमण टोलीका सदस्य र उनीसँग भेट गरेका एमाले नेताका भनाइअनुसार यसपटकको भ्रमण सम्मेलनमा सहभागितामै सीमित रहेको र कुनै राजनीतिक भेटवार्ता नभएको दाबी गरिएको छ ।

प्रतिक्रिया