info@nawayug.com

इक्वेडरमा ‘एल निनो’ का कारण आपत्काल घोषणा

इक्वेडरले एल निनो जलवायु घटनाका कारण देशभर उच्च सतर्कता जारी गर्दै आपत्काल घोषणा गरेको छ ।

इक्वेडरको जोखिम व्यवस्थापन मन्त्रालयले एल निनोको सम्भावित प्रभावलाई ध्यानमा राख्दै देशभर उच्च सतर्कता जारी गरेको समाचार संस्था एएफपीले जनाएको छ । सतर्कतासँगै सम्भावित जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित ठाउँमा सार्ने तथा अन्य आपत्कालीन उपाय समन्वय गर्न सम्बन्धित समितिहरू सक्रिय हुनेछन् ।

इक्वेडरले देशको पूर्वमा पर्ने अमेजन क्षेत्रमा खडेरी र डढेलोको जोखिम बढ्ने अनुमान गरेको छ । यस वर्षको एल निनोले मध्य अमेरिकाका केही क्षेत्रमा गम्भीर खडेरी तथा इन्डोनेशियामा डढेलोको जोखिम बढाएको अधिकारीहरूले बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार अहिलेको एल निनो वर्षको अन्त्यतिर उत्कर्षमा पुग्न सक्ने र सन् २०२७ मा विश्वव्यापी तापक्रममा उल्लेखनीय वृद्धि हुन सक्ने अनुमान छ ।

पानामा, होन्डुरस र एल साल्भाडोरले यसअघि नै एल निनोका कारण आपत्काल घोषणा गरिसकेका छन् । पेरुले पनि एल निनोका कारण तीव्र गर्मी र वर्षाको जोखिमलाई ध्यानमा राख्दै आफ्ना झन्डै एकतिहाइ शहरमा आपत्काल घोषणा गरेको छ ।

एल निनो समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्था हो । प्रशान्त महासागरको सतहमाथिको तापक्रममा ० दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एल निनो प्रभाव हो ।

प्रतिक्रिया