कङ्गो । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोको विद्रोही नियन्त्रणमा रहेको बुकावु सहरमा आगलागीपछि भएको भागदौडमा कम्तीमा २४ विद्यार्थीको मृत्यु भएको छ ।
स्थानीय अधिकारीका अनुसार कदुतु क्षेत्रमा रहेका दुई विद्यालयमा आगलागी भएपछि विद्यार्थी तथा स्थानीयहरू बच्नका लागि भाग्दा ठूलो भागदौड मच्चिएको थियो । घटनामा केही वयस्कको समेत मृत्यु भएको बताइएको छ ।
आगलागीमा करिब ३०० घर जलेर नष्ट भएका छन् भने घाइते तथा घटनाबाट बचेका व्यक्तिलाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको छ । अस्पतालमा बालबालिका पीडामा छटपटाइरहेको दृश्य सार्वजनिक भएका छन् ।
अधिकारीहरूले बिहीबार साँझ मृतकको संख्या २४ पुगेको पुष्टि गरेका हुन् । भग्नावशेषमा अझै मानिसहरू फसेको हुन सक्ने भएकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । रोयटर्सका अनुसार आगो नियन्त्रणमा आए पनि जलेका संरचना र टिनका छानाबाट धुवाँ निस्किरहेको थियो ।
दक्षिण किभु प्रान्तको राजधानी बुकावु पहाडी क्षेत्रमा रहेको घना बस्ती भएको सहर हो । एम २३ विद्रोही समूहले गत फेब्रुअरीमा बुकावु कब्जा गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com