info@nawayug.com

स्काभेटरको ठक्करबाट एक जनाको मृत्यु

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका–५, कुवाकोट, खोलीगाउँका अन्दाजी ४० वर्षीय दलबहादुर बोहराको स्काभेटरको ठक्करबाट मृत्यु भएको छ । केशवराज भट्टका अनुसार दहताल–मुसीकोट सडक निर्माण कार्य सञ्चालन भइरहेको क्रममा बिहीबार बिहान साढे सात बजे स्काभेटरको पछाडिपट्टिको भागले बोहरालाई ठक्कर दिएको हो । उक्त सडक निर्माण समितिका अध्यक्षसमेत रहेका बोहरा सो दिन निर्माणस्थलमा उपस्थित रहेका बेला दुर्घटनामा पर्नुभएको हो ।

सडक निर्माण कार्य सडक बोर्डको १९ लाख रुपियाँ बजेटमा सञ्चालित रहेको पुर्चौंडी नगरपालिका–५ का वडाध्यक्ष नागीसिंह खडायतले जानकारी दिनुभयो । ठक्करबाट गम्भिर घाइते हुनुभएका बोहरालाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

स्काभेटर चालक बझाङको वित्थडचिर गाउँपालिकाका अन्दाजी ३० वर्षीय ललित बोहरालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको वडाध्यक्ष खडायतले बताउनुभयो ।

मृतक बोहरा नेपाली कांग्रेसका पूर्ववडा सभापति हुनुहुन्थ्यो । उहाँको परिवारमा श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । बोहराको निधनले पार्टी र समाजमा अपूरणीय क्षति पुगेको बैतडी कांग्रेसका नेताहरूले बताउनुभएको छ ।

प्रतिक्रिया