info@nawayug.com

सरकारी गाडीसहित क्यासिनोमा भेटिए सखुवाप्रसौनीका अध्यक्ष यादव

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा वीरगंजस्थित गण्डकको क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित ८ जनालाई नियन्त्रणमा लिइएको हो। उनीहरूका साथबाट गाउँपालिकाको ना१झ १६८७ नम्बरको सरकारी स्कर्पियोसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराईले अध्यक्ष यादवसहित ७ जना पक्राउ परेको पुष्टि गरेका छन्। सरकारी सवारीसाधन प्रयोग गरी जनप्रतिनिधि क्यासिनो पुगेको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार अध्यक्ष यादवसहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। उनीहरूलाई आइतबार सार्वजनिक गर्ने तयारी रहेको प्रहरीले जनाएको छ।

पर्साका क्यासिनोमा नेपाली ग्राहक जाने गरेको सूचना आउने गरे पनि प्रहरी पुग्दा उनीहरू भाग्ने गरेका कारण यसअघि पक्राउ पर्न सकेका थिएनन्। पछिल्लो समय राजनीतिक पहुँचका आधारमा विभिन्न पालिकाका राजनीतिक व्यक्ति तथा व्यापारीहरू भारतीय रासन कार्ड प्रयोग गरी क्यासिनोमा जाने गरेको चर्चा हुँदै आएको थियो।

क्यासिनोमा नेपालीको संलग्नता बढ्दै गएको र यसबाट कतिपयको आर्थिक तथा पारिवारिक अवस्था प्रभावित भएको घटनापछि प्रहरीले निगरानी बढाएको जनाएको छ। यसपटक भने गाउँपालिकाका अध्यक्ष नै क्यासिनोमा भेटिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया