info@nawayug.com

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै माइतीघरमा विद्यार्थीकाे प्रदर्शन

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाण्डौको माइतीघरमा प्रदर्शन गरेका छन् । परीक्षा राम्रो दिए पनि अपेक्षाभन्दा निकै कम ग्रेड प्राप्त गरेको गुनासो गर्दै उनीहरूले उत्तरपुस्तिका पुनः परीक्षण गर्नुपर्ने माग राखेका छन् ।

विद्यार्थी रञ्जित कार्कीले परीक्षामा लेखेअनुसारको अङ्क नआएको बताउनुभयो । नतिजा छिटो निकाल्ने नाममा मूल्याङ्कन प्रक्रियामा लापर्बाही गरेको आरोप लगाउँदै उहाँले पुनः परीक्षण निःशुल्क हुनुपर्ने माग पनि राख्नुभयो । विद्यार्थीको गल्ती नभएको अवस्थामा शुल्क लिनु अन्याय हुने उहाँको भनाइ छ ।

विद्यार्थी स्मृति खतिवडाले नतिजाप्रति व्यापक असन्तुष्टि रहेको बताउँदै उत्तीर्ण भएका धेरै विद्यार्थीसमेत आफ्नो नतिजाबाट सन्तुष्ट नरहेको उल्लेख गर्नुभयो । नतिजाको पुनर्योगले मात्र समस्या समाधान नहुने भन्दै उत्तरपुस्तिकाको पुनर्जाँच गर्नुपर्ने उहाँको माग छ ।

विद्यार्थीहरूले त्रुटिपूर्ण परीक्षाफल सार्वजनिक गरेर सरकारले विद्यार्थीको मेहनत र भविष्यमाथि खेलवाड गरेको आरोप लगाएका छन् ।

यसअघि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फेसबुकमार्फत नतिजा प्रकाशन प्रक्रियामा कुनै कमजोरी नभएको स्पष्टीकरण दिनुभएको थियो ।

प्रतिक्रिया