काठमाडौं । एसियाली खेलकुदको इतिहासमा पहिलोपटक पुरुष क्रिकेटको स्वर्ण पदकका लागि भारत र पाकिस्तान आमनेसामने हुने भएका छन् ।
बिहीबार भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई १२४ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो । अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ६ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । भारत र पाकिस्तानबीचको स्वर्ण पदकका लागि खेल अक्टोबर ३ मा हुनेछ ।
जापानको निशिनमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो । भारतका लागि इशान किशनले अविजित ८० रन बनाए । उनले ४ चौका र ५ छक्का प्रहार गरे । वैभव सूर्यवंशीले २१ बलमा ३८ रन जोड्दा कप्तान श्रेयस अय्यरले १३ रन बनाए ।
१७० रनको लक्ष्य पछ्याएको श्रीलंका ९.५ ओभरमै ४५ रनमा अलआउट भयो । श्रीलंकाका ६ ब्याटरले खातासमेत खोल्न सकेनन् । भारतका जसप्रित बुमराह, अक्षर पटेल र अभिषेक शर्माले समान २ विकेट लिए भने श्रीलंकाका तीन खेलाडी रनआउट भएका थिए ।
पाकिस्तानको ६ विकेटको जित
पुरुष क्रिकेटको पहिलो सेमिफाइनल वर्षाका कारण प्रभावित भएपछि खेल १३–१३ ओभरमा सीमित गरिएको थियो ।
पहिले ब्याटिङ गरेको बंगलादेशले १३ ओभरमा ७ विकेट गुमाएर १११ रन बनाएको थियो । जवाफी ब्याटिङमा पाकिस्तानले ११।३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो र ६ विकेटको जितसहित फाइनलमा प्रवेश गर्यो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com