info@nawayug.com

दसैँमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटकको सङ्ख्या ५ हजार ३८४ पुग्यो

लमजुङ । बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटकको आगमन पुनः बढ्न थालेको छ । थोरङ्ला पास जाने पदमार्गमा जमेको हिउँ हटाएर बाटो सहज बनाइएपछि मनाङ हुँदै मुस्ताङ जाने पर्यटकको सङ्ख्या बढ्न थालेको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को धारापानीस्थित पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार अहिले दैनिक १५० देखि २०० पर्यटक पदमार्गमा आउन थालेका छन् । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र हिमपातका कारण सडक तथा पदमार्ग अवरुद्ध हुँदा पर्यटकको आगमन निकै घटेको थियो । प्रतिकूल मौसमका कारण दैनिक एक–दुई जना पर्यटक मात्रै आउने गरेकोमा अहिले अवस्था सुधार हुँदै गएको गुरुङले बताउनुभयो ।

समुद्री सतहबाट पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला पास जाने बाटोमा जमेको हिउँ हटाइएपछि मनाङबाट मुस्ताङ जाने पर्यटकलाई सहज भएको छ । मुख्य पर्यटकीय याम सुरु भएसँगै भदौदेखि पर्यटक आगमन बढ्न थालेको भए पनि असोजको प्रतिकूल मौसमले त्यसलाई प्रभावित पारेको थियो ।

गुरुङका अनुसार असोज १८ देखि २५ गतेसम्म धारापानीस्थित केन्द्रमा एक हजार ४४७ पर्यटकको विवरण अभिलेख गरिएको छ । तीमध्ये ८८७ पुरुष र ५६० महिला छन् । उक्त अवधिमा सबैभन्दा धेरै इजरायलबाट १४१, अस्ट्रेलियाबाट १२१, जर्मनीबाट १०९, स्पेनबाट १०३ र बेलायतबाट ९७ पर्यटक आएका छन् ।

गत वर्ष मुख्य पर्यटकीय याममा दैनिक ४०० देखि ५०० जनासम्म पर्यटक आउने गरेकोमा यस वर्ष बाढीपहिरो र हिमपातका कारण आगमन प्रभावित भएको गुरुङले बताउनुभयो । सडक तथा पदमार्ग थप सहज हुँदै गएमा पर्यटकको सङ्ख्या बढ्ने उहाँको अपेक्षा छ ।

हिमाली दृश्य, प्राकृतिक सौन्दर्य तथा स्थानीय संस्कृति र रहनसहनका कारण अन्नपूर्ण चक्रीय पदमार्ग स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित छ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङ्ला पास पार गरेर मुस्ताङ पुगिने यस पदमार्गमा जगत् र धारापानी पर्यटकका महत्वपूर्ण बासस्थान हुन् ।

पदमार्गमा पर्यटकको आगमन घट्दा स्थानीय पर्यटन व्यवसायसमेत प्रभावित भएको थियो । मस्र्याङ्दी गाउँपालिका–४, जगत्का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङका अनुसार बाढीपहिरोका कारण व्यवसायको आम्दानी शून्यजस्तै बनेको थियो । पछिल्लो समय पर्यटक आउन थालेपछि दैनिक १५ हजारदेखि २० हजार रुपैयाँसम्म आम्दानी हुन थालेको उहाँले बताउनुभयो ।

“गत वर्षको मुख्य पर्यटकीय सिजनमा दैनिक ४० हजारदेखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको थियो । यस वर्ष बाढीपहिरोका कारण व्यवसाय प्रभावित भयो । केही दिनअघिसम्म पर्यटक नआउँदा आम्दानी शून्यजस्तै थियो, अहिले विस्तारै आउन थालेका छन्,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार जगत्मा करिब २२ वटा होटल सञ्चालनमा छन् । सडकबाटै सिधै मनाङ पुग्ने पर्यटकका कारण पदमार्गका बीचमा पर्ने बस्तीका व्यवसायमा समेत असर पर्ने गरेको उहाँले बताउनुभयो । सडक र पदमार्ग सहज बनेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र स्थानीय व्यवसायमा सुधार आउने उहाँको अपेक्षा छ ।

त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–४, बुङ झरनानजिक होटल सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी बाबुराम तामाङले पनि बाढीपहिरोका कारण मुख्य पर्यटकीय सिजनमै व्यवसाय सुनसान बनेको बताउनुभयो । पछिल्ला दिनमा पर्यटक आउन थालेपछि व्यवसायीमा आशा पलाएको उहाँको भनाइ छ ।

सडक तथा पदमार्गको अवस्था सहज बन्दै गएमा पर्यटकको आगमन थप बढ्ने र बाढीपहिरोका कारण प्रभावित बनेको पर्यटन व्यवसाय क्रमशः पुरानै लयमा फर्किने अपेक्षा व्यवसायीले गरेका छन् ।

प्रतिक्रिया