काठमाडौं । दक्षिण कोरियाले होर्मुज जलघाँटीमा जहाज आवागमनको स्वतन्त्रता सुनिश्चित गर्न सैन्य उपकरण तथा फौज पठाउने तयारी गरेको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।
दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार सरकारले यसै वर्ष होर्मुजमा सैन्य मिसन सुरु गर्ने योजना बनाएको छ ।
सम्भावित तैनाथीका लागि संसदीय स्वीकृति लिन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ ।
यस विषयमा इरानको महत्वपूर्ण सैन्य संरचना ‘खातम अल–अनबिया’ केन्द्रीय मुख्यालयका आधिकारिक प्रवक्ता इब्राहिम जोल्फाघारीले सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिएका छन् ।
उनले दक्षिण कोरियाले होर्मुजमा जहाज आवागमनको स्वतन्त्रताको समर्थनका लागि सेना पठाउने विषयमा विचार गरिरहेको बताएका छन् ।
दक्षिण कोरियाको विकल्पमा समुद्री गस्ती विमान, रसद सहयोगी जहाज तथा समुद्री बारुदी सुरुङ पत्ता लगाउने र हटाउने सैन्य एकाइ तैनाथ गर्ने योजना हुन सक्ने उनको भनाई छ ।
जोल्फाघारीका अनुसार दक्षिण कोरियाले यसअघि अमेरिका–इरान युद्ध समाप्त भएपछि मात्रै यस्तो तैनाथीबारे विचार गर्ने बताएको थियो ।
तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी युद्ध प्रयासलाई पर्याप्त सहयोग नगरेको भन्दै दक्षिण कोरियाको आलोचना गरेपछि दक्षिण कोरियाको धारणा परिवर्तन भएको उनको दाबी छ ।
समाचार संस्था रोयटर्सका अनुसार दक्षिण कोरियाली सञ्चारमाध्यमले सरकारी तथा सैन्य स्रोतलाई उद्धृत गर्दै सम्भावित तैनाथीका लागि संसद्को स्वीकृति लिन आवश्यक कानुनी प्रक्रिया अघि बढिरहेको जनाएका छन् ।
रिपोर्टअनुसार मन्त्रिपरिषद्मा योजनाको समीक्षा गरेपछि दक्षिण कोरियाली सरकारले यसै महिना संसद्समक्ष औपचारिक स्वीकृतिका लागि प्रस्ताव पेस गर्ने तयारी गरेको छ ।
होर्मुजमा पछिल्ला केही सातादेखि सुरक्षा तनाव बढ्दै गएको र व्यावसायिक जहाजमाथि आक्रमणका घटना समेत बढेको बताइएको छ ।
विश्वको महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक रहेको होर्मुजमा जहाजको सुरक्षा सुनिश्चित गर्न विभिन्न देशले आफ्नो भूमिका बढाउने उपायबारे छलफल गरिरहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com