info@nawayug.com

एनपीएल फाइनलका नायक जर्ज मुन्से : को हुन् यी विस्फोटक ब्याटर?

काठमाडौँ । लगातार दुई फाइनलमा उपविजेतामै सीमित भएको सुदूरपश्चिम रोयल्स तेस्रो प्रयासमा एनपीएलको उपाधि जित्दा फाइनल खेलका नायक बने स्कटल्यान्डका जर्ज मुन्से । प्लेअफका अघिल्ला दुई खेलमा अपेक्षित प्रदर्शन गर्न नसकेका मुन्सेले उपाधि भिडन्तमा भने बिष्फोटक शतक हाने ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै पहिलोपटक उपाधि जित्यो । यो जितको सबैभन्दा ठूलो कथा स्कटल्यान्डका ब्याटर जर्ज मुन्सेको धुवाँदार ब्याटिङ रह्यो ।

१५६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएका मुन्सेले लुम्बिनीका बलरलाई कुनै मौका दिएनन् । उनले ५४ बलमा अविजित १२५ रन बनाए । उनको ब्याटबाट ८ चौका र १२ छक्का निस्किए । २३१.४८ को स्ट्राइक रेटमा खेल्दै उनले सुदूरपश्चिमलाई १३.३ ओभरमै जित दिलाए ।

एनपीएलको फाइनलमा बनेको यो अहिलेसम्मकै उच्च व्यक्तिगत स्कोर हो । मुन्सेले केवल शतक बनाएनन्, फाइनलमा लक्ष्य पछ्याउने तरिकामै नयाँ मापदण्ड स्थापित गरिदिए ।

सुदूरपश्चिमले उनलाई प्लेअफका लागि मात्रै टोलीमा भित्र्याएको थियो । स्कटल्यान्डकै ब्रान्डन म्याकमुलेन उपलब्ध नहुने भएपछि उनको स्थानमा मुन्सेलाई ल्याइएको हो । १६ नोभेम्बरमा सुदूरपश्चिमसँग जोडिएका मुन्सेले त्यसपछि लगातार दुई खेल खेले । तर, पहिलो क्वालिफायरमा उनी खाता नखोली आउट भए । क्वालिफायर–२ मा पनि उनको ब्याटबाट जम्मा ८ रन मात्रै निस्कियो ।

यसरी लगातार दुई खेलमा असफल भएका मुन्सेलाई फाइनलमा पनि टोलीले विश्वास गर्‍यो । फाइनलमा मुन्सेले पहिलो बलदेखि नै आक्रामक शैली अपनाए । २८ बलमा अर्धशतक पूरा गरेका उनले ४९ बलमै शतक बनाए । त्यसपछि पनि उनको आक्रामकता रोकिएन । १२ छक्का प्रहार गरेका उनले लुम्बिनीका सबैजसो बलरलाई दबाबमा राखे ।

एसोसियट्स राष्ट्रका एक उत्कृष्ट ब्याटर

३३ वर्षीय जर्ज मुन्से स्कटल्यान्डका स्थापित अन्तर्राष्ट्रिय ब्याटर हुन् । बायाँहाते ओपनर २०१५ देखि स्कटल्यान्डको राष्ट्रिय टोलीबाट खेलिरहेका छन् ।

एकदिवसीय र टी–२० दुवै संरचनामा आक्रामक ब्याटिङका लागि परिचित उनी एसोसिएट राष्ट्रका प्रभावशाली ब्याटरमध्ये एक मानिन्छन् ।

सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध स्कटल्यान्डले ऐतिहासिक पहिलो एकदिवसीय जित निकाल्दा मुन्सेले ५५ रन बनाएका थिए । त्यसपछि उनको चर्चा अन्तर्राष्ट्रिय क्रिकेटमा बढ्दै गयो ।

सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्ध उनले टी–२० अन्तर्राष्ट्रियमा अविजित १२७ रन बनाएर तहल्का पिटे । ५६ बलको त्यो इनिङ्समा उनले विपक्षी बलरमाथि निर्मम आक्रमण गरेका थिए । उक्त खेलमा स्कटल्यान्डले २५२ रन बनाएको थियो ।

सन् २०२५ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा १९१ रन बनाउँदै उनले एसोसिएट राष्ट्रका ब्याटरमध्ये सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमानसमेत बनाए ।

एनपीएलसँग मुन्सेको सम्बन्ध

मुन्से नेपालका लागि पनि नयाँ अनुहार होइनन् । उनले दोस्रो संस्करणको एनपीएलमा विराटनगर किंग्सबाट खेलेका थिए । त्यसैले नेपालको पिच र यहाँको क्रिकेट वातावरणबारे उनलाई पहिल्यै अनुभव थियो ।

तेस्रो संस्करणमा भने उनी प्रतियोगिताको अन्तिम चरणमा मात्रै सुदूरपश्चिमसँग जोडिए । तर, अन्तिम खेलमा उनले देखाएको क्षमता कुनै नयाँ खेलाडीको आकस्मिक चमत्कार थिएन । लामो समय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको अनुभव र ठूलो खेलमा दबाब सामना गर्ने क्षमताको परिणाम थियो ।

एनपीएलको फाइनलमा उनको १२५ रन प्रतियोगिताकै इतिहासमा सर्वाधिक व्यक्तिगत स्कोर बन्यो । यसअघि यही संस्करणमा चितवनका कमिल मिश्राले अविजित १२० रन बनाउँदै कीर्तिमान राखेका थिए । मुन्सेले त्यसलाई पनि उछिने ।

बिनोद भण्डारीसँगको अविजित साझेदारीले सुदूरपश्चिमलाई लक्ष्यसम्म पुर्‍यायो । बिनोदले २७ बलमा अविजित ३० रन बनाएर मुन्सेलाई साथ दिएका थिए । मुन्सेको प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्सको उपाधि प्रतीक्षा पनि समाप्त भयो । उनले अन्तिम तीन बलमा लगातार छक्का हान्दै सुदूरपश्चिमलाईलक्ष्यमा पुर्याएका थिए ।

प्रतिक्रिया