info@nawayug.com

ऊर्जामन्त्री श्रेष्ठ बने कार्यवाहक प्रधानमन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

श्रेष्ठले वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । दोस्रो वरियतामा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनाल प्रधानमन्त्रीसँगै भारत जाँदैछन् ।

प्रधानमन्त्री बालेन शाह ३४ सदस्यीय प्रतिनिधिमण्डलसहित आइतबार भारत भ्रमणमा जाँदैछन् । प्रधानमन्त्रीको भारत भ्रमणमा निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली पनि आफ्नै खर्चमा सहभागी हुँदैछन् ।

भ्रमणको पहिलो दिन आइतबार प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री शाहले सोमबार भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने र भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधि मण्डल स्तरीय वार्ता गर्ने भएका छन् । नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी यही मङ्सिर ७ गते साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया