info@nawayug.com

नेपालको बाढीले भारतमा पनि त्रास : जोखिमलाई ध्यानमा राख्दै यूपी र बिहारमा उच्च सतर्कता

काठमाडौँ । नेपालमा भीषण बाढीले जनधनको ठुलो क्षति पुर्‍याएपछि भारतको उत्तर प्रदेश र बिहार राज्यका प्रशासनले तल्लो तटीय क्षेत्रमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी तीव्र बनाएका छन्।

नेपालको रसुवा जिल्लामा बुधबार आएको अचानकको बाढीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने भारतीय नागरिकहरूसहित कैयौँ मानिस बेपत्ता छन् । बाढीले ठूलो क्षति पुर्‍याएपछि छिमेकी भारतीय क्षेत्रमा निगरानी र सावधानीका उपायहरू बढाइएको छ।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले अवस्थाको निरन्तर अनुगमन गर्न उच्चस्तरीय समिति गठन गरिएको जानकारी दिएका छन् । सञ्चारकर्मीहरूसँग बोल्दै मुख्यमन्त्री चौधरीले भने, ‘मुख्यसचिव र प्रहरी महानिरीक्षकले यसको अनुगमन गरिरहेका छन्, म आफैँ पनि बैठक बसिरहेको छु।’

आवश्यकता परे आफू स्वयं प्रभावित क्षेत्रमा जाने उनले बताए। बिहारका स्वास्थ्यमन्त्री निशान्त कुमारले पनि स्वास्थ्य विभाग अलर्ट अवस्थामा रहेको र छिटोभन्दा छिटो सहायता पुर्‍याउन बैठकहरू भइरहेको जानकारी दिए।

बिहारको विपद् व्यवस्थापन विभागले सतर्कता अपनाउन र नदी किनारका बासिन्दालाई नदी छेउ नजान अपिल गरेको छ। हल्लाको पछि नलाग्न र आधिकारिक सूचना मात्रै पालना गर्न नागरिकलाई अनुरोध गरिएको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले सामाजिक सञ्जालमा पोस्ट गर्दै महाराजगञ्ज र कुशीनगर जिल्लालाई उच्च सतर्कतामा राखिएको बताएका छन्। गण्डक र नारायणी नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन र आवश्यक तयारी पूरा गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइएको उनले स्पष्ट पारे।

नेपाल पर्यटन बोर्डका अनुसार बाढी प्रभावित क्षेत्रबाट २९१ विदेशी र ९३ नेपाली गरी कम्तीमा ३८४ जना यात्रु बेपत्ता भएका छन् । बेपत्ता हुने विदेशीहरूमा १०५ जना भारतीय नागरिक रहेको अधिकारीहरूले जनाएका छन्। चीनको तिब्बती भूभागबाट आएको बाढीले नेपालका कैयौँ गाउँहरू बगाएर ठूलो क्षति पुर्‍याएको छ।

  

प्रतिक्रिया