काठमाडौं । बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सुरक्षण मुद्रण केन्द्रले प्रधानमन्त्री राहत कोषमा १ करोड ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले उक्त रकम बराबरको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, सञ्चार सचिव राजेन्द्रप्रसाद पौडेल तथा अर्थ मन्त्रालयका सहसचिवलगायतको उपस्थिति थियो ।
सुरक्षण मुद्रण केन्द्रले हाल सातै प्रदेशका लागि सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइ गरिरहेको छ । जेनजी आन्दोलनका क्रममा यातायात व्यवस्था विभागमा रहेको मास प्रिन्टर जलेर नष्ट भएपछि लाइसेन्स छपाइको जिम्मेवारी केन्द्रले सम्हाल्दै आएको हो ।
केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आगामी दिनमा राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क टिकट, नागरिकताको प्रमाणपत्रलगायत उच्च सुरक्षणयुक्त कागजात पनि स्वदेशमै छपाइ गर्ने तयारी भइरहेको छ ।
उनका अनुसार अन्तःशुल्क टिकट छपाइका लागि आन्तरिक राजस्व विभागसँग आवश्यक कार्यढाँचा निर्माणको काम भइरहेको छ । यसबाट उच्च सुरक्षणयुक्त कागजातको छपाइमा स्वदेशी क्षमता विस्तार हुने अपेक्षा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com