नयाँ दिल्ली । कन्नड सुपरस्टार यशको फिल्म ‘टक्सिकः ए फेयरी टेल फर ग्रोन–अप्स’ प्रदर्शनमा आएको दुई साता पूरा भएको छ । अगस्ट २६ मा रिलिज भएको एक्सन–थ्रिलर ग्याङ्स्टर फिल्मले पहिलो दिन १०१ करोड १० लाख भारुको शानदार ओपनिङ गरेको थियो । यो फिल्मबाट मेकरहरूले निकै आशा गरेका थिए । तर त्यसपछि भने फिल्मको कमाइ लगातार घटिरहेको छ ।
सैकनिल्कको प्रारम्भिक ट्रेन्ड रिपोर्टअनुसार फिल्मले भारतमा १४औँ दिन अर्थात् दोस्रो मंगलबार करिब ६९ लाख भारु मात्रै नेट कलेक्सन गरेको छ । दोस्रो सोमबार फिल्मले ७५ लाख रुपैयाँ कमाएको थियो । यसअनुसार मंगलबारको कमाइमा करिब ८ प्रतिशत गिरावट आएको छ ।
टक्सिकको भारतमा कुल नेट कलेक्सन करिब २४७ करोड १९ लाख भारु पुगेको छ । भारतमा फिल्मको ग्रस कलेक्सन करिब २९५ करोड २ लाख भारु रहेको छ । त्यस्तै, विदेशबाट फिल्मले करिब ४३ करोड ३० लाख भारु कमाएको छ । यससँगै टक्सिकको विश्वव्यापी ग्रस कलेक्सन करिब ३३८ करोड ३२ लाख भारु पुगेको छ ।
कन्नडभन्दा हिन्दी संस्करणमा अकुपेन्सी बढी
१४औँ दिन कन्नड र हिन्दी संस्करणको कमाइमा पनि फरक देखिएको छ । कन्नड संस्करणले ४७ लाख भारु कमाउँदा हिन्दी संस्करणले २२ लाख भारु मात्रै कमाएको छ । तर अकुपेन्सीको हिसाबले भने हिन्दी संस्करण अगाडि छ । कन्नड संस्करणको कुल अकुपेन्सी १६ दशमलव ५२ प्रतिशत रहँदा हिन्दी संस्करणको २९ दशमलव ६० प्रतिशत पुगेको थियो । हिन्दी संस्करणका रातिका शोमा सबैभन्दा बढी ३५ दशमलव ७७ प्रतिशत अकुपेन्सी देखिएको थियो ।
गीतु मोहनदासको निर्देशन रहेको टक्सिकको कथा भारत स्वतन्त्र भएपछि गोवाको पृष्ठभूमिमा आधारित छ । फिल्ममा यश ग्याङ्स्टरको भूमिकामा देखिएका छन् । फिल्ममा यशसँगै कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया र रुक्मिणी वसन्तको अभिनय छ । फिल्मको कथा गीतु मोहनदास र यशले संयुक्त रूपमा लेखेका हुन् । यश फिल्मका सह–निर्माता पनि हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com