काठमाडौं । सिंगापुरका २२ वर्षीय युवक मालोन लामले अमेरिकामा भएको ठूलो क्रिप्टोकरेन्सी चोरीसम्बन्धी मुद्दामा आफू दोषी रहेको स्वीकार गरेका छन् ।
उनले साथीहरूसँग मिलेर करिब २४ करोड ५० लाख अमेरिकी डलरबराबर (करिब ३७ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ)को बिटक्वाइन चोरी गरी रकम शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको स्वीकार गरेका हुन् ।
लामले मंगलबार अमेरिकामा र्याकेटियरिङ षड्यन्त्र (Racketeering Conspiracy) सम्बन्धी आरोपमा दोषी स्वीकार गरेका हुन् ।
उक्त अपराधमा उनलाई अधिकतम २० वर्षसम्मको जेल सजाय हुन सक्छ । अमेरिकी जिल्ला न्यायाधीश कोलिन कोलार–कोटेलीले उनको सजाय सुनाउने मिति भने तत्काल तोकेकी छैनन् ।
अमेरिकी न्याय मन्त्रालय (डीओजे)का अनुसार लाम र उनका सहयोगीहरूले चोरीको रकमबाट एकपटक नाइट क्लबमा मात्रै ५ लाख डलरसम्म खर्च गर्ने गरेका थिए । उनीहरूले १ लाखदेखि ३८ लाख डलरसम्म मूल्य पर्ने विलासी कारहरूको ठूलो संग्रह समेत खरिद गरेका थिए ।
अमेरिकी महान्यायाधिवक्ताको कार्यालयका अनुसार लामले ‘एन ह्याथवे’, ‘$$$’ र ‘किङ ग्रेभी’ लगायतका नामसमेत प्रयोग गर्थे ।
उनी आपराधिक समूहका मुख्य योजनाकार रहेको र पीडित पहिचान गर्ने तथा अन्य सदस्यको भूमिका समन्वय गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
लामले सन् २०२३ को अक्टोबरमा अमेरिका प्रवेश गरेका थिए । त्यसको केही महिनापछि उनको भिसाको अवधि सकिए पनि उनी अमेरिकामै बसेका थिए ।
अदालतमा पेश गरिएका कागजातअनुसार उनको नेतृत्वमा रहेको आपराधिक गतिविधि सन् २०२३ को अक्टोबरदेखि कम्तीमा सन् २०२५ को मेसम्म चलेको थियो ।
समूहका सदस्यहरू क्यालिफोर्निया, कनेक्टिकट, न्युयोर्क, फ्लोरिडा तथा अमेरिकाबाहिरका विभिन्न स्थानबाट आएका थिए । उनीहरू अनलाइन गेमिङ प्लेटफर्ममार्फत एकअर्कासँग सम्पर्कमा आएका थिए ।
डीओजेका अनुसार उनीहरूले मानिसलाई झुक्याएर गोप्य सूचना उपलब्ध गराउन बाध्य पार्थे । कतिपय अवस्थामा घरमै चोरी गरेर पीडितको क्रिप्टोकरेन्सी वालेट खाली गर्न आवश्यक विवरणसमेत प्राप्त गर्थे ।
चोरी गरिएको रकमबाट हर्मेस ब्रान्डका बिर्किन ब्याग पनि खरिद गरिएको थियो । दशौँ हजार डलर पर्ने ती ब्याग नाइट क्लबका पार्टीमा भीडतर्फ फ्याँक्ने गरेको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।
त्यस्तै, चोरीको रकमबाट ५ लाख डलरसम्म मूल्य पर्ने महँगा घडी, दशौँ हजार डलर मूल्यका विलासी कपडा, लस एन्जलस, ह्याम्पटन र मियामीमा भाडाका घर, निजी विमान तथा निजी सुरक्षा गार्डसमेत राखिएको थियो ।
लाम आफ्नो भड्किलो जीवनशैलीका कारण लस एन्जलस र मियामीका नाइट क्लबहरूमा चर्चित बनेका थिए । ठूलो मात्रामा क्रिप्टोकरेन्सीबाट प्राप्त रकम खर्च गर्ने उनको शैलीले समेत प्रहरीको ध्यान तानेको थियो ।
एफबीआईका एजेन्टहरूले सन् २०२४ को सेप्टेम्बरमा लाम र उनका एक सहयोगीलाई पक्राउ गरेपछि उक्त आपराधिक समूह ध्वस्त भएको थियो ।
लाम पहिलोपटक अदालतमा उपस्थित हुँदा अमेरिकी मजिस्ट्रेट न्यायाधीश एलिसिया भालेले उनको जीवनशैलीलाई सन् १९८६ को चर्चित चलचित्र फेरिस बुएलर्स डे अफका पात्रसँग तुलना गरेकी थिइन् ।
उनले लामले २३ करोड डलरभन्दा बढी रकम हात पारेपछि लस एन्जलसका नाइट क्लबमा जाँदै र ३० भन्दा बढी महँगा विलासी कार खरिद गर्दै अत्यधिक खर्च गरेको बताएकी थिइन् ।
यसै मुद्दाका अर्का सहयोगी इभान ट्याङ्गम्यानलाई गत अप्रिलमा रकम शुद्धीकरण गरेको अभियोगमा ७० महिनाको जेल सजाय सुनाइएको थियो ।
लाम पक्राउ परेपछि ट्याङ्गम्यानले प्रमाण नष्ट गर्ने प्रयाससमेत गरेका थिए । अदालतले उक्त कार्यलाई उनको अपराधप्रतिको सचेतता अर्थात् दोष स्वीकार गर्ने मानसिकताको प्रमाणका रूपमा लिएको डीओजेले जनाएको छ ।
अमेरिकी अधिकारीहरूले लामको समूहलाई अहिलेसम्मकै ठूला क्रिप्टोकरेन्सी चोरीका घटनामध्ये एक भएको बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com