काठमाडौँ । सरकारले हालैको बाढी–पहिरोबाट क्षतिग्रस्त स्थानीय सडक तथा पुलहरूको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई करिब १० अर्ब रुपैयाँ उपलब्ध गराउने तयारी गरेको छ।
प्रतिनिधि सभाको विशेष समितिको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको बजेट सीमाभित्रै रहेर तत्काल पुनर्निर्माणका काम अघि बढाउन कोषको मौज्दात रकम पूर्वाधार मन्त्रालयलाई दिनेबारे छलफल भइरहेको जानकारी दिएका हुन्।
चालु आर्थिक वर्षको बजेटको सीमा २१ खर्ब २४ अर्ब रुपैयाँ रहेको र यसलाई नाघेर जाँदा पूरक बजेट ल्याउनुपर्ने कानुनी जटिलता हुने भएकाले सरकारले राहत कोषको रकम परिचालन गर्ने रणनीति बनाएको हो । भौतिक पूर्वाधार मन्त्रालयले बहुवर्षीय ठेक्का आह्वान गरी निर्माण व्यवसायीलाई मोबिलाइजेसन पेस्की दिन सकोस् भन्नका लागि उक्त रकम उपलब्ध गराउन लागिएको हो ।
कोषमा १८ अर्ब सङ्कलित, १ अर्ब निकासा भइसक्यो
अर्थमन्त्री डा.वाग्लेका अनुसार यस पटक सरकारप्रति नागरिक र दातृ निकायको उच्च विश्वासका कारण प्रधानमन्त्री उद्धार कोषमा उल्लेख्य रकम जम्मा भएको छ।
‘यस पटक कोषमा नागरिकहरूको १ रुपैयाँदेखि अमेरिकी प्रविधि कम्पनी एनभिडियाका सीईओ जेन्सेन वाङले दिएको १० मिलियन डलर (करिब डेढ अर्ब रुपैयाँ) सम्म गरी १८ अर्ब रुपैयाँ जम्मा भएको छ,’ अर्थमन्त्रीले भने।
कोषमा सङ्कलित रकममध्ये विपद् लगत्तै राहत र उद्धारका लागि स्थानीय पालिकाहरूलाई १ अर्ब रुपैयाँ निकासा गरिसकिएको छ । बाँकी रकमलाई कार्यविधि बनाएर पारदर्शी ढङ्गले पूर्वाधार पुनर्निर्माण, कृषि राहत तथा आवास निर्माणमा खर्च गर्ने सरकारको योजना छ।
कृषि क्षेत्रमा १ अर्ब दिइँदै
पूर्वाधार मन्त्रालयलाई १० अर्ब दिने तयारीसँगै कृषि क्षेत्रका लागि पनि सोही कोषबाट विशेष राहत प्याकेज दिने गृहकार्य भइरहेको छ। बाढी प्रभावित क्षेत्रमा कृषि उत्पादन नष्ट भएको, बजार सम्पर्क टुटेको र मल अभाव हुन नदिने योजना छ ।
कृषि मन्त्रालयको माग अनुसार ५० करोडदेखि १ अर्ब रुपैयाँसम्मको विशेष राहत तथा अनुदान प्याकेज दिने तयारी गरिएको हो ।
यस्तै, नगद राहत वितरणका लागि सञ्चार मन्त्रालयमार्फत आएका मागहरूलाई पनि कोषबाटै सम्बोधन गरिनेछ।
कोष कसरी सञ्चालन हुन्छ ?
धेरैलाई यो कोष प्रधानमन्त्री वा अर्थमन्त्रीले आफूखुसी चलाउने भ्रम रहेको उल्लेख गर्दै अर्थमन्त्रीले यसको छुट्टै वैधानिक संयन्त्र रहेको प्रस्ट पारे।
यो कोष राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने र प्रधानमन्त्री कार्यालयका सचिवले यसको दैनिक प्रशासनिक कार्य हेर्ने व्यवस्था छ। स्थानीय तह र सम्बन्धित मन्त्रालयबाट आएको आधिकारिक मागका आधारमा मात्र कोषबाट रकम निकासा हुने उनको भनाइ छ ।
अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयका सचिवहरूबिच कात्तिक ३० गते बैठक बसेर रकम विनियोजन र रकमान्तरको प्राविधिक मोडालिटी टुङ्ग्याउने तयारी छ। आगामी वर्षको बजेटमा पुनर्निर्माणको बजेट आकार थप विस्तार गरिने भए पनि तत्कालका लागि भोटेकोशी, त्रिशूली करिडोर लगायत देशभर अवरुद्ध भएका सडक र बगेका पुलहरू तत्काल जोड्न यो १० अर्ब रुपैयाँ परिचालन गरिनेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com