काठमाडौँ । आन्दोलनरत डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन नेपालका माग सम्बोधन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को संरचनागत, कानुनी तथा प्रतिनिधित्वसम्बन्धी समस्या समाधान र विगतका सहमति कार्यान्वयनको माग गर्दै एसोसिएसनले आन्दोलन सुरु गरेपछि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट वार्ता समिति गठन गरेको हो।
एसोसिएसनले गत कात्तिक २७ गते मन्त्रालयमा पेस गरेको पत्रका आधारमा मङ्सिर ७ गतेदेखि आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समिर अधिकारी र मन्त्रालयका कानुन उपसचिव राजेन्द्र लम्साल सदस्य रहेका छन्।
मन्त्रालयले समस्या समाधानका लागि आज मङ्गलबार बिहान १० बजे वार्ता गर्न एसोसिएसनलाई औपचारिक निमन्त्रणा दिएको छ।
यसैबीच, डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालले आफ्ना १० बुँदे माग अघि सार्दै सोमबारदेखि रिले अनशन तथा धर्ना सुरु गरेको छ। परिषद् र मन्त्रालयसँग पटक–पटक छलफल गर्दा पनि निष्कर्ष ननिस्किएपछि आन्दोलन गर्न बाध्य भएको एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले बताएका छन्।
एसोसिएसनले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को सदस्यता, प्रतिनिधित्व र निर्णय प्रक्रियामा देखिएको स्वार्थको द्वन्द्व अन्त्य गर्न माग गरेको छ। त्यस्तै, परीक्षा प्रणाली पारदर्शी बनाउन र प्रत्यक्ष स्वार्थ बाझिने व्यक्तिलाई परिषद्को निर्णय प्रक्रियाबाट अलग राख्नुपर्ने उसको माग छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा १०(४) कार्यान्वयन गर्न, कार्यकाल समाप्त भएका परिषद् सदस्यलाई निरन्तरता नदिन तथा डेन्टल समुदायका लागि छुट्टै निर्वाचन व्यवस्था हुने गरी परिषद्को नियमावली संशोधन गर्न पनि एसोसिएसनले माग गरेको छ। विगतमा सरकार र पेसागत संघसंस्थाबीच भएका सहमति कार्यान्वयन गर्दै डेन्टल जनशक्तिको पेसागत हकहित, सुरक्षा र कार्यक्षेत्र संरक्षण सुनिश्चित गर्नुपर्ने एसोसिएसनको अडान छ।
आफ्ना माग सम्बोधन नभएसम्म दबाबमूलक आन्दोलनका कार्यक्रम जारी राख्ने एसोसिएसनले चेतावनी दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com