हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले शिक्षा–स्वास्थ्य क्षेत्रमा लगाइएको कर, विद्युत् उपभोगमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट), सुकुमबासीमाथि भइरहेको डोजर अभियान तथा प्रधानमन्त्रीले संसदमा दिएको भनिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत आइतबार प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा कांग्रेसले संसदमा प्रधानमन्त्रीले दिएको भनिएको ‘नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति फिर्ता लिन, संसद्को अभिलेखबाट हटाउन तथा सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ। उक्त अभिव्यक्तिले नेपाली जनताको राष्ट्रिय स्वाभिमानमा चोट पुगेको दाबी गर्दै नेपाल–भारत सीमा विवादबारे सरकारले संसद् र जनतासमक्ष स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग पनि गरिएको छ।
जिल्ला सभापति बुद्ध लामाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले सरकारका विभिन्न निर्णयप्रति असहमति जनाउँदै ज्ञापनपत्र बुझाएको हो।
कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर जनविरोधी भएको भन्दै तत्काल खारेज गर्न माग गरेको छ। साथै, सामुदायिक विद्यालय र सरकारी अस्पतालको गुणस्तर सुधार गरी सबै नागरिकका लागि सहज र गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।
त्यसैगरी विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने राष्ट्रिय नीतिविपरीत रहेको उल्लेख गर्दै उक्त व्यवस्था खारेज गरी विद्युत् उपभोग बढाउने नीति अवलम्बन गर्न माग गरिएको छ।
भूमि तथा वनसम्बन्धी कानुनका अव्यावहारिक व्यवस्थाका कारण सुकुमबासी समस्या समाधान हुन नसकेको उल्लेख गर्दै कांग्रेसले वैकल्पिक व्यवस्थाबिना प्रहरी परिचालन गरी डोजर प्रयोग गरेर घर–टहरा हटाउने कार्य तत्काल रोक्न सरकारसँग आग्रह गरेको छ।
ज्ञापनपत्रमा उठाइएका मागप्रति सरकारले बेवास्ता गरे सम्बन्धित सरोकारवालासँग सहकार्य गर्दै शान्तिपूर्ण र चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत कांग्रेसले दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com