काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनी तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे महाधिवेशनको तयारीबीच जिल्ला भ्रमणमा निस्किएका छन्। तीन नेताले बुधबारदेखि वीरगञ्जबाट सामूहिक जिल्ला भ्रमण अभियान सुरु गरेका हुन्।
तीनै नेता आज वीरगञ्ज पुगेका छन्। वीरगञ्जबाट सुरु भएको उनीहरूको अभियान मंसिरमा हुने पार्टीको महाधिवेशनलाई लक्षित गर्दै झापामा पुगेर १६ गते सम्पन्न हुनेछ।
निर्धारित कार्यक्रमअनुसार नेताहरूले पर्सापछि बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र मोरङ हुँदै झापासम्मको भ्रमण गर्नेछन्।
जिल्ला भ्रमणका क्रममा उनीहरूले पार्टी संगठन सुदृढीकरण, आसन्न स्थानीय निर्वाचन र समसामयिक राजनीतिक परिस्थितिबारे नेता तथा कार्यकर्तासँग छलफल र अन्तर्क्रिया गर्ने कार्यक्रम छ। साथै, पार्टीको तल्लो तहमा रहेका नेता तथा कार्यकर्ताको धारणा बुझ्ने र उनीहरूका सुझाव संकलन गर्ने उद्देश्यसमेत रहेको छ।
राप्रपाको महाधिवेशन आगामी मंसिरमा हुने तय भएको छ। वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनले पुनः अध्यक्ष बन्ने तयारी गरिरहेका बेला तीन नेताको संयुक्त जिल्ला भ्रमणलाई पार्टीभित्रको नेतृत्व चयनसँग जोडेर हेरिएको छ।
तीनै नेता आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तनको पक्षमा रहेको बताइएको छ। महाधिवेशन नजिकिँदै गर्दा उनीहरूले जिल्ला तहमा नेता तथा कार्यकर्तासँग गर्ने छलफललाई पार्टीको आगामी नेतृत्व र आन्तरिक समीकरणका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com