मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन तथा बिक्री विगत पाँच वर्षको तुलनामा आधाभन्दा बढी घटेको तथ्याङ्क सार्वजनिक भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०७८–७९ मा १०७ दशमलव ५२ किलोग्राम यार्सागुम्बा बिक्री भएकोमा चालु आर्थिक वर्ष २०८२–८३ को फागुनसम्म आइपुग्दा यो परिमाण ४७ दशमलव ८ किलोग्राममा सीमित भएको छ ।
सोही अवधिमा यार्सागुम्बाबाट सङ्कलित राजस्व पनि ३२ लाख ६१ हजार ८४० रुपियाँबाट घटेर १४ लाख ८१ हजार ८०० रुपियाँमा झरेको छ । एक्याप इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले विगत पाँच वर्षदेखि मनाङमा यार्सागुम्बाको उत्पादन तथा सङ्कलन निरन्तर घट्दैगएको बताउनुभयो ।
उहाँका अनुसार हिमाली क्षेत्रको तापक्रम वृद्धि, चिसोपनमा आएको कमी तथा जलवायु परिवर्तनको असरका कारण यार्सागुम्बाको प्राकृतिक उत्पादन प्रभावित भएको छ । कुनै समय हिमाली जिल्लाका बासिन्दाका लागि ‘सुन फल्ने जडीबुटी’ का रूपमा परिचित यार्सागुम्बा अहिले दुर्लभ बन्दै गएको स्थानीयवासी बताउँछन् ।
वैशाखदेखि असारको पहिलो सातासम्म हजारौँ मानिस उच्च हिमाली खर्कमा पुगेर यार्सागुम्बा सङ्कलन गर्थे । सङ्कलनबाट प्राप्त आम्दानीले वर्षभरि घरखर्च चलाउने आधार बनेको थियो । पछिल्लो वर्षमा उत्पादन घट्दै जाँदा त्यसमा निर्भर परिवारको जीविकोपार्जनमा प्रत्यक्ष असर पर्न थालेको छ ।
पिसाङका रामबहादुर गुरुङले पहिलेजस्तो यार्सागुम्बा पाउन छाडिएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको वातावरणीय अवस्था फेरिँदा यार्सागुम्बाको उत्पादनमा असर परेको हुन सक्ने धारणा राख्नुभयो ।
नासोँ गाउँपालिका –८ ताचैका वडाध्यक्ष याद घलेले पनि विगतमा प्रशस्त पाइने खर्कमा अहिले यार्सागुम्बा भेटिन कठिन हुन थालेको बताउनुभयो । उत्पादन घट्दै जाँदा स्थानीयको प्रमुख आयस्रोतमा असर परेको उहाँको भनाइ छ ।
मनाङ औषधीय जडीबुटी उत्पादनका लागि परिचित जिल्ला हो । यहाँको अर्थतन्त्रमा यार्सागुम्बा महत्वपूर्ण आम्दानीको स्रोत मानिन्छ । पछिल्लो वर्षमा उत्पादन घट्दै गएपछि स्थानीयवासीमा चिन्ता बढेको छ ।
एक्यापको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७–७८ मा ४० दशमलव ५ किलोग्राम यार्सागुम्बा बिक्रीबाट १२ लाख १५ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७८–७९ मा बिक्री बढेर १०७ दशमलव ५२ किलोग्राम पुगेपछि ३२ लाख ६१ हजार ८४० रुपियाँ राजस्व सङ्कलन भएको थियो । त्यसपछि सङ्कलन र राजस्व दुवै ओरालो लागेको छ ।
आर्थिक वर्ष २०७९–८० मा ८२ दशमलव २ किलोग्राम बिक्रीबाट २५ लाख ४८ हजार २०० रुपियाँ, २०८०–८१ मा ७२ दशमलव ५४२ किलोग्राम बिक्रीबाट २२ लाख ४८ हजार ९०२ रुपियाँ तथा २०८१–८२ मा ५१ दशमलव ८६३ किलोग्राम बिक्रीबाट १५ लाख ९८ हजार ३६० रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आर्थिक वर्ष २०८२–८३ को फागुनसम्म ४७ दशमलव ८ किलोग्राम यार्सागुम्बा बिक्रीबाट १४ लाख ८१ हजार ८०० रुपियाँ राजस्व उठेको कार्यालयले जनाएको छ ।
एक्यापका प्रमुख भुजेलका अनुसार यार्सागुम्बा सङ्कलनबाट प्राप्त हुने दस्तुर स्थानीय पालिका र संरक्षण क्षेत्र व्यवस्थापन समितिमा जान्छ । यद्यपि उत्पादन र बिक्री घटेसँगै दस्तुर तथा राजस्व आम्दानी निरन्तर खुम्चिँदै गएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com