गुवाहाटी । ध्रुव जुरेलको अविजित ८१ रन र वैभव सूर्यवंशी ७८ रनको आक्रामक अर्धशतकीय इनिङ्सको मद्दतमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)लाई छ विकेटले पराजित गरेको छ ।
शुक्रबार गुवाहाटीको बारसपारा क्रिकेट स्टेडियममा खेलिएको यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको आरसीबीले कप्तान रजत पाटीदारको ६३ रनको इनिङ्सको सहयोगमा २० ओभरमा आठ विकेट गुमाएर २०१ रन बनाएको थियो । जवाफमा राजस्थानले मात्र १८ ओभरमा चार विकेट गुमाएर २०२ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्यो ।
आरसीबीको यो यस सिजनको पहिलो हार हो । यसअघि खेलेका दुवै खेल टोलीले जितेको थियो । यता राजस्थानले लगातार चार खेलमा जित दर्ता गरेको छ ।
हाल टोली अंक तालिकाको शीर्ष स्थानमा रहेको छ र उसको नेट रन रेट २.०५५ पुगेको छ । आरसीबी भने चार अंक र १.२३१ नेट रन रेटसहित तेस्रो स्थानमा छ।
राजस्थानले आईपीएलमा पाँचौं पटक २०० भन्दा बढी रनको लक्ष्य पछ्याएर पूरा गरेको हो । यस मामिलामा शीर्ष स्थानमा पञ्जाब किंग्स रहेको छ, जसले नौ पटक यस्तो उपलब्धि हासिल गरेको छ । दोस्रो स्थानमा मुम्बई इन्डियन्स रहेको छ, जसले छ पटक यस्तो गरेको छ । साथै, आरसीबीले आईपीएलमा २०० भन्दा बढी स्कोर बचाउने क्रममा सातौं हार बेहोरेको हो ।
वैभव र जुरेलको विष्फोटक इनिङ्स
२०२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको राजस्थानको सुरुआत राम्रो भएन । यशस्वी जैसवालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् र आठ बलमा १३ रन बनाएर आउट भए। त्यसपछि १५ वर्षीय ब्याटर वैभव सूर्यवंशी र ध्रुव जुरेलले इनिङ्स सम्हाले ।
दुवैले दोस्रो विकेटका लागि मात्र ३७ बलमा १०८ रनको शानदार साझेदारी गरे । वैभवले २६ बलमा ७८ रनको विस्फोटक इनिङ्स खेले, जसमा उनले ३०० को स्ट्राइक रेटमा ८ चौका र ७ छक्का प्रहार गरे ।
यद्यपि, शिमरोन हेटमायर खाता नै नखोली आउट भए भने कप्तान रियान परागले मात्र तीन रन बनाए । जुरेल भने एकातर्फ डटेर उभिए र ४३ बलमा ८१ रनको अविजित इनिङ्स खेले ।
उनले आफ्नो इनिङ्समा ८ चौका र ३ छक्का प्रहार गरे। साथै, रविन्द्र जडेजाले पनि उत्कृष्ट ब्याटिङ गर्दै २४ रनको अविजित इनिङ्स खेले । जुरेल र जडेजाबीच पाँचौं विकेटका लागि ५० बलमा ६८ रनको अविजित साझेदारी भयो । बलिङतर्फ आरसीबीका जोश हेजलवुड र क्रुणाल पाण्ड्याले दुई–दुई विकेट लिए ।
पाटीदारको कप्तानी इनिङ्स
यसअघि, आरसीबीको सुरुआत राम्रो भएन । फिल साल्ट खाता नै नखोली आउट भए । देवदत्त पडिक्कल ७ बलमा १४ रन बनाएर जोफ्रा आर्चरको सिकार बने । विराट कोहलीले १६ बलमा ३२ रनको योगदान दिए ।
क्रुणाल पाण्ड्याले मात्र एक रन बनाए भने जितेश शर्मालाई पाँच रनमै बृजेश शर्माले आउट गरे । टिम डेविड पनि ९ बलमा १३ रनमै सीमित भए ।
तर कप्तान रजत पाटीदारले एक छेउ सम्हाल्दै ४० बलमा ६३ रनको सशक्त इनिङ्स खेले । रोमारियो शेफर्डले ११ बलमा २२ रन बनाए ।
अन्तिम ओभरहरूमा वेंकटेश अय्यरले १५ बलमा अविजित २९ रन बनाए भने भुवनेश्वर कुमार ९ रनमा अविजित रहे । बलिङतर्फ राजस्थानका लागि जोफ्रा आर्चर, रवि बिश्नोई र बृजेश शर्माले दुई–दुई विकेट लिए भने सन्दीप शर्मा र जडेजाले एक–एक विकेट लिए ।
आजका खेलहरुः
पञ्जाब किंग्स भर्सेस सनराइजर्स हैदराबाद, दिउँसो ३ः४५ बजे
चेन्नई सुपर किंग्स भर्सेस दिल्ली क्यापिटल्स, साँझ ७ः४५ बजे
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com