काठमाडौं । दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज उच्चस्तरीय भेटवार्ता हुँदैछ ।
भेटवार्तामा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने, पूर्वाधार विकास तथा आर्थिक सहकार्य विस्तार गर्नेलगायतका विषयमा छलफल हुने कार्यसूची छ ।
कार्यक्रमअनुसार प्रधानमन्त्री शाहलाई सोमबार बिहान १० बजे भारतको राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिनेछ । त्यसपछि बिहान १०ः४० बजे राजघाट पुगेर उनले महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुनेछ । त्यसलगत्तै बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुने तय भएको छ ।
वार्ताका क्रममा भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन तथा भारतको धार्चुलादेखि नेपालको दार्चुला जोड्ने मोटरेबल पुल निर्माणलगायतका १० वटा विषयलाई प्राथमिकताका साथ उठाउने तयारी छ ।
यसैगरी ऊर्जा, सडक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, सूचना प्रविधि र विपद् व्यवस्थापनका क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल हुनेछ ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह विभिन्न विकास परियोजनाको उद्घाटन तथा दुई देशबीच भएका सम्झौता र समझदारीपत्र आदानप्रदान कार्यक्रममा समेत सहभागी हुनेछन् ।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलो राजकीय विदेश भ्रमणका रूपमा भारत पुगेका शाहको मोदीसँगको भेटवार्तालाई महत्त्वका साथ हेरिएको छ । यस भ्रमणबाट नेपालले द्विपक्षीय सम्बन्ध, विकास निर्माण र आर्थिक सहकार्यका क्षेत्रमा कस्ता उपलब्धि हासिल गर्छ भन्ने विषयमा चासो बढेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com