info@nawayug.com

गैँडाको चोरी–शिकारी रोक्न चितवन निकुञ्जद्वारा निगरानी र सुरक्षा मजबुत

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चोरी–शिकारीका कारण गैँडाको मृत्यु नभएको एक हजार ४२ दिन पुगेको छ । निकुञ्जमा पछिल्लोपटक २०८० कात्तिक ३० गते तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसयता चोरी–शिकारीबाट कुनै पनि गैँडाको मृत्यु भएको छैन ।

पूर्वी चितवनको खैरहनी नजिक खगेन्द्रमल्ली पोस्टबाट करिब तीन किलोमिटर दक्षिणपूर्वमा पर्ने निकुञ्जको चपरचुली क्षेत्रमा तस्करहरूले दुईवटा गैँडालाई छुट्टाछुट्टै खाल्डोमा पारेर मारेका थिए ।

त्यसयता गैँडाको प्राकृतिक कारणले मृत्यु हुने क्रम जारी रहे पनि चोरी–शिकारीबाट भने क्षति भएको छैन । निकुञ्जको सुरक्षा व्यवस्थामा गरिएको कडाइ, नियमित निगरानी र सुरक्षा संयन्त्रको सक्रियताका कारण चोरी–शिकारी नियन्त्रणमा सफलता मिलेको निकुञ्ज प्रशासनको भनाइ छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार पछिल्लो एक हजार ४२ दिनदेखि तस्करहरूले गैँडा मार्न पाएका छैनन् । निकुञ्ज प्रशासन, नेपाली सेना र स्थानीय समुदायबीचको समन्वयले गैँडा संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उनले बताए ।

निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा पाँचवटा, २०७८/०७९ मा दुईवटा र २०७९/०८० मा दुईवटा गैँडा चोरी–शिकारीबाट मारिएका थिए । यसअघि आर्थिक वर्ष २०५८/०५९ मा सबैभन्दा बढी ३८ वटा गैँडा तस्करको सिकार बनेका थिए । सशस्त्र द्वन्द्वका बेला सुरक्षा पोस्ट घटाइँदा तस्करहरूले त्यसको फाइदा उठाएको बताइन्छ ।

त्यसपछि सुरक्षा व्यवस्थामा सुधार भएसँगै निकुञ्जले एक हजार ७१ दिनसम्म शून्य चोरी–शिकारीको अवस्था कायम गरेको थियो ।

चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा पछिल्ला वर्षहरूमा प्राकृतिक कारणले पनि उल्लेख्य सङ्ख्यामा गैँडाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ४३, २०७६/०७७ मा २६, २०७७/०७८ मा ३५, २०७९/०८० मा २०, २०८०/०८१ मा २१, २०८१/०८२ मा २८ र २०८२/०८३ मा २२ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए ।

निकुञ्जको सुरक्षा जिम्मेवारी नेपाली सेनाको नयाँ गोरख गणले सम्हाल्दै आएको छ । हाल निकुञ्जमा ५३ वटा सुरक्षा पोस्ट रहेका छन् । ती पोस्टमा नेपाली सेना र निकुञ्जका सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी थापामगरले जानकारी दिए ।

गैँडाको चोरी–शिकारीमा तस्करहरूले गोली हान्ने, खाल्डोमा पार्ने, विष खुवाउने र करेन्ट लगाउनेजस्ता विधि प्रयोग गर्ने गरेका छन् । यता प्राकृतिक कारणले भने बुढ्यौली, अन्य जनावरको आक्रमण, आपसमा जुध्ने, बाढी, दलदलमा फस्ने तथा बाघको आक्रमणबाट गैँडाको मृत्यु हुने गरेको छ ।

पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा रहेका छन् । तीमध्ये ६९५ वटा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छन् । सन् २०२१ यता गैँडाको राष्ट्रिय गणना भएको छैन । चितवनबाहेक पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गैँडा पाइन्छन् ।

प्रतिक्रिया