info@nawayug.com

सोलुखुम्बुको खास्तापमा भीषण आगलागी, घर, पसल र होटलमा क्षति

सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका केन्द्र खास्तापमा भएको भीषण आगलागीबाट घर, पसल र होटल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।

गत मंसिर ६ गते राति गाउँपालिकाको केन्द्र खास्तापस्थित टंक राईको घरमा आगलागी भएको हो। आगोले घरसँगै आसपासका व्यवसायिक संरचनामा समेत क्षति पुर्‍याएको छ।

आगलागीबाट सुन्दर राई र पिटर नेपालीका पसल तथा हर्कजित राईको होटल पूर्ण रूपमा जलेका छन्। एउटै स्थानमा रहेका घर तथा व्यवसायमा आगो फैलिँदा ठूलो भौतिक क्षति भएको बताइएको छ।

गाउँपालिकाका उपाध्यक्ष गौरव राईले घटनाबारे जानकारी दिँदै आगलागीबाट ठूलो क्षति भएको बताएका छन्।

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन। घटनामा मानवीय क्षति भए–नभएको तथा क्षतिको यकिन विवरणसमेत आउन बाँकी रहेको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाइएको छ।

प्रतिक्रिया