काठमाडौँ । नेपाल र भारतका दुई प्रमुख धार्मिक स्थल जनकपुरधाम र अयोध्यालाई जोड्न आज (वि.सं. २०८३ मङ्सिर ७ /सन् २०२६ नोभेम्बर २३) देखि सिधा रेल सेवा सुरु भएको छ ।
नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा हरियो झण्डा देखाएर ‘जनकपुरधाम–अयोध्या साप्ताहिक एक्सप्रेस रेल सेवा’ को उद्घाटन गरेका छन् । भारतले ६०४ किलोमिटर दूरी रहेको यो रेल सेवालाई ‘सर्यु कमला एक्सप्रेस’ नाम दिएको छ ।
माता सीताको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई सीधा रेल सञ्जालले जोड्नु धार्मिक र सांस्कृतिक पर्यटनका लागि महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । लामो समयदेखि प्रत्यक्ष यातायातको पर्खाइमा रहेका तीर्थयात्रीलाई यो रेल सेवाले ठुलो राहत दिने अपेक्षा गरिएको छ ।
तर, आजको रेल उद्घाटनसँगै आठ वर्षअघिको एउटा तीतो अनुभवले झस्काएको छ । ठिक आठ वर्षअघि यस्तै तामझामका साथ सुरु गरिएको ‘जनकपुर–अयोध्या सिधा बस सेवा’ उद्घाटन यात्रापछि नै असफल भएको थियो ।
उद्घाटन यात्रामै रोकिएको त्यो बस सेवा
वि.सं. २०७५ वैशाख २८ गते (सन् २०१८ मे ११) तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुरधामबाट हरियो झण्डा देखाएर ‘जनकपुर–अयोध्या सिधा बस सेवा’ को संयुक्त रूपमा उद्घाटन गरेका थिए । दुई देशबिच धार्मिक पर्यटन प्रवद्र्धन गर्ने भन्दै ठुलो प्रचारप्रसारका साथ उक्त मैत्री बस सेवा सुरु गरिएको थियो ।
तर, उद्घाटनका दिन जनकपुरबाट यात्रु लिएर छुटेको बस भोलिपल्ट वैशाख २९ गते (मे १२) अयोध्या पुगेपछि सेवा नै रोकियो । बहुप्रतीक्षित भनिएको त्यो बस सेवा पहिलो एकतर्फी यात्रामै सीमित भएर अनिश्चितकालका लागि बन्द हुन पुग्यो ।
यातायात व्यवस्था विभागले पनि जनकपुर–अयोध्या सिधा बस सेवा हाल पूर्ण रूपमा बन्द रहेको जनाएको छ । सञ्चालकहरूले रुट अनुमति (इजाजत) नवीकरण नगराएका कारण बस सेवा ठप्प भएको विभागको भनाइ छ ।
विभागका निर्देशक मणिराम भुसालका अनुसार सुरुवाती चरणमा केही समय चलेको यो बस सेवा पछिल्लो ५ देखि ७ महिनायता सञ्चालनमा छैन । तत्कालीन प्रधानमन्त्री ओलीको कार्यकालमा धार्मिक सम्बन्ध जोड्ने भन्दै तामझामका साथ बस सेवाको रुट अनुमति दिइए पनि पछि त्यसको निरन्तरतामा ध्यान नदिँदा सेवा कागजी रूपमा समेत समाप्त हुन पुगेको हो ।
‘जनकपुर–अयोध्याका लागि एकपटक रुट त दिइएको हो, तर अहिले चलेको छैन,’ निर्देशक भुसालले भने, ‘सञ्चालकहरू रुट इजाजत नवीकरण गर्न नै आएका छैनन् । नवीकरण नभएपछि सेवा स्वतः रोकिएको हो ।’
राजनीतिक प्रचारका लागि तामझामका साथ अनुमति दिने तर पछि सेवा चल्यो कि चलेन भनेर अनुगमन नगर्ने सरकारी कमजोरीको उदाहरण जनकपुर–अयोध्या बस सेवा बनेको छ ।
अन्तरदेशीय बस चलाउन आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया, स्थायी रुट परमिट, भाडादर र बस बिसौनीहरूको टुो नै नलागी हतारमा उद्घाटन गरिएकाले सेवा नियमित चल्न नसकेको हो । पछि दुवै देशका यातायात निकायबिच थप समन्वय हुन नसक्दा उक्त बस सेवा विगत आठ वर्षदेखि पूर्ण रूपमा ठप्प रहँदै आएको छ ।
बस सेवा असफल भएर निराश बनेका तीर्थयात्रीका लागि ‘सर्यु कमला एक्सप्रेस’ को सुरुवातले नयाँ आशा जगाएको छ । जनकपुरधाम र अयोध्याबिच सीधा रेल चल्दा ज्येष्ठ नागरिक, परिवारसहित यात्रा गर्ने श्रद्धालु र दुवै देशका पर्यटकलाई निकै सहज हुने विश्वास गरिएको छ । यसले जनकपुरको होटल व्यवसाय, स्थानीय व्यापार र समग्र धार्मिक पर्यटनमा सकारात्मक टेवा पुग्ने अपेक्षा छ ।
यद्यपि, आठ वर्षअघि बस सेवामा देखिएको राजनीतिक तामझाम र त्यसपछिको लापरबाही भोगेका स्थानीय बासिन्दा र यातायात क्षेत्रका जानकारहरू अझै पूर्ण रूपमा ढुक्क हुन सकेका छैनन् । उद्घाटनको दिन ठुला भाषण गर्ने तर व्यावहारिक समस्या आउँदा वास्ता नगर्ने पुरानै रोग रेल सेवामा पनि दोहोरिने पो हो कि भन्ने चिन्ता कायमै छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com