काठमाण्डौं । फिफा विश्वकप फुटबलमा अस्ट्रेलियाले टर्किएलाई २ गोलले हराउँदै विजयी शुरुआत गरेको छ । क्यानडाको भ्यान्कुभरमा भएको खेलमा अस्ट्रेलियाले खेलको पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल गर्यो ।
अस्ट्रेलियाका नेस्टोरी इरान्कुन्डाले खेलको २७ औँ मिनेटमा गोल गरे । कोनर मेटकाल्फले ७५औँ मिनेटमा गोल थपे । जितसँगै समूह ‘डी’ को अस्ट्रेलियाले महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । त्यस्तै विश्वकप फुटबलमा स्कटल्यान्डले पनि विजयी शुरुआत गरेको छ । समूह ‘सी’को खेलमा स्कटल्यान्डले हाइटीलाई १ गोलले पराजित गरेको हो ।
बोस्टनमा भएको खेलमा उसका जोन म्याकगिननले खेलको २८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्कटल्यान्डले विश्वकपमा २८ वर्षपछि खेलेको हो । जीतसँगै उसले तीन अङ्क जोडेको छ । आज बिहान भएका अन्य खेलमा ब्राजिल र मोरक्को तथा कतार र स्विट्जरल्यान्डले बराबरी खेलेका छन् । मोरक्कोसँगको खेलमा ब्राजिल स्टार खेलाडी नेयमारबिनै खेलेको थियो ।
मोरक्कोका स्माइल साइबरीले २१ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ब्राजिलका भिनिसियस जुनियरले ३२ औँ मिनेटमा गोल गर्दै खेललाई एक÷एकको बराबरीमा ल्याए । त्यसपछि थप गोल हुन सकेन र दुवै टोलीले एकरएक अङ्क बाँडेका छन् । त्यस्तै स्विट्जरल्यान्ड र कतारले पनि बराबरी खेल्दै अङ्क बाँडेका छन् । खेलको १७औँ मिनेटमा ब्रेल एम्बोलोले स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए ।
तर खेलको इन्जुरी समयमा कतारका बोउलेम खोउखीले गोल गर्दै खेल बराबरी बनाए । उनको गोलले कतारलाई हारबाट जोगाउनुका साथै विश्वकप इतिहासमा पहिलो अङ्क दिलाएको छ । विश्वकप फुटबलमा आज राति नेपाली समयअनुसार पौने ११ बजे जर्मनी र कुराकाओले खेल्दैछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com