विराटनगर । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले सार्वजनिक गरेको पछिल्लो वार्षिक ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन’ अनुसार कोशी प्रदेश ऊर्जा क्षेत्रमा देशकै प्रमुख केन्द्रका रूपमा अघि बढिरहेको पाइएको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/०८३ को असार मसान्तसम्ममा कोशी प्रदेशका विभिन्न जिल्लामा निर्माण सम्पन्न भएका ६४ वटा जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमता ९७७.२ मेगावाट पुगेको छ । यसका अतिरिक्त मोरङ जिल्लामा ६.८ मेगावाटको ग्रिड कनेक्टेड सोलार आयोजना र झापा जिल्लामा झापा इनर्जी लिमिटेडबाट उत्पादित १० मेगावाट क्षमताको सौर्य विद्युत्समेत गरी प्रदेशको कुल विद्युत् उत्पादन क्षमता ९९४.० मेगावाट पुगेको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा प्रदेशमा सञ्चालित विद्युत् आयोजनाहरूको कुल उत्पादन क्षमता ७८६.७ मेगावाट मात्र थियो । समीक्षा वर्षमा मात्रै कोशी प्रदेशमा सात वटा नयाँ जलविद्युत् आयोजना निर्माण सम्पन्न भई कुल २०६.२ मेगावाट बिजुली प्रणालीमा थपिएको छ ।
जिल्लागत उत्पादन अवस्थालाई हेर्दा सोलुखुम्बु जिल्ला कोशी प्रदेशमै सबैभन्दा अगाडि देखिएको छ, जहाँ सञ्चालित १० वटा आयोजनाबाट सर्वाधिक ३४९.८ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । त्यसपछि इलाम जिल्लाका १८ वटा आयोजनाबाट २००.८ मेगावाट र संखुवासभाका १० वटा आयोजनाबाट १३६.७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
त्यसैगरी ताप्लेजुङका ९ वटा आयोजनाबाट ९८.५ मेगावाट, पाँचथरका ४ आयोजनाबाट ७१.९ मेगावाट, ओखलढुङ्गाका ५ आयोजनाबाट ६५.१ मेगावाट, भोजपुरका ४ आयोजनाबाट ३१.९ मेगावाट, तेह्रथुमका २ आयोजनाबाट १२.३ मेगावाट र खोटाङका २ आयोजनाबाट १०.२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
अरुण तेस्रोको भौतिक प्रगति ७६ प्रतिशत
प्रदेशको अर्थतन्त्र र राष्ट्रिय उत्पादनमा ठुलो प्रभाव पार्ने आयोजनाका रूपमा रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । कुल १ खर्ब ८८ अर्ब रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनाको २०८३ असार मसान्तसम्मको समग्र भौतिक प्रगति ७५.८१ प्रतिशत र वित्तीय प्रगति ६१.२८ प्रतिशत पुगेको छ । २०७५ वैशाखदेखि सुरु भएको यस आयोजनालाई २०८५ पुससम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस आयोजनामा १ हजार ४४९ जना स्वदेशी र १ हजार १८० जना विदेशी गरी कुल २ हजार ६ सय २९ जना कामदारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
यसबाहेक कोशी प्रदेशमा ठुला जलाशययुक्त आयोजनाका रूपमा १०६३ मेगावाट क्षमताको माथिल्लो अरुण र ६३५ मेगावाट क्षमताको दुधकोशी जलविद्युत् आयोजना विकासको चरणमा छन् । यी आयोजना सम्पन्न भएपछि कोशी प्रदेश बाह्रै महिना हरित ऊर्जामा पूर्ण आत्मनिर्भर बन्नेमात्र नभई विद्युत् निर्यातको प्रमुख राष्ट्रिय केन्द्रका रूपमा स्थापित हुने आधार तयार भएको छ ।
उत्पादित विद्युतलाई राष्ट्रिय ग्रिड तथा क्षेत्रीय बजारसम्म पुर्याउन प्रसारण लाइन र सबस्टेसन निर्माणमा समेत उल्लेख्य प्रगति भइरहेको छ । अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रवाहका लागि ४०० केभी क्षमताको २१७ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर हुँदै मधेस प्रदेशका जिल्लाहरूसम्म पुग्ने यस प्रसारण लाइनको भौतिक प्रगति ५८.६५ प्रतिशत र वित्तीय प्रगति ५५.७३ प्रतिशत पुगिसकेको छ ।
त्यसैगरी, कोशी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार खण्डमा १०६ किलोमिटर लामो दोस्रो सर्किट तार तान्ने आयोजना सुरु भएको छ । कुल १ अर्ब ५० करोड रुपैयाँ लागतको यो आयोजना सन् २०२८ मार्चसम्म सम्पन्न भएपछि थप दुई हजार मेगावाट बिजुली प्रसारण गर्न सकिने क्षमता विकास हुनेछ ।
यसै आयोजनाअन्तर्गत ताप्लेजुङस्थित ढुङ्गेसाँघु १३२ केभी सबस्टेसनलाई २२० केभीमा स्तरोन्नति गरी ४०० एमभीए क्षमता थप गर्ने प्रक्रिया मूल्याङ्कनको चरणमा पुगेको छ । यता औद्योगिक क्षेत्रमा गुणस्तरीय विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको २३ किलोमिटर लामो कुशाहा–विराटनगर १३२ केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ७९.२९ प्रतिशत र वित्तीय प्रगति ८०.१८ प्रतिशत पुगेको छ । यस आयोजनालाई आगामी आर्थिक वर्ष २०८३/८४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
प्रतिवेदनले कोशी प्रदेशमा उत्पादन भएको विद्युत् ढल्केबर–मुजफ्फरपुर र इनरुवा–पूर्णियाजस्ता अन्तरदेशीय क्रस–बोर्डर प्रसारण लाइनमार्फत भारत र बंगलादेशसम्म निर्यात गरी मुलुकले ठुलो आर्थिक लाभ हासिल गर्न सक्ने सम्भावना औँल्याएको छ । अरुण, तमोर र कन्काईजस्ता बाह्रै महिना पानीको तीव्र बहाव हुने नदीहरू भएकाले यस प्रदेशमा बाह्रै महिना जलविद्युत् उत्पादनको उच्च सम्भावना छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com