info@nawayug.com

१९ वर्ष पुरानो यामाल र मेसीको फेरि चर्चामा

काठमाण्डौं । स्पेनका युवा स्टार लामिन यामाल र अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकप २०२६ को फाइनलमा आमनेसामने हुने भएपछि उनीहरूको १९ वर्ष पुरानो एउटा तस्वीर फेरि चर्चामा आएको छ ।

सन् २००७ मा बार्सिलोना फाउन्डेसन र स्पेनी पत्रिका डियारियो स्पोर्टले आयोजना गरेको च्यारिटी फोटोशुटका क्रममा त्यति बेलाका २० वर्षीय मेसीले पाँच महिनाका शिशु यामाललाई टबमा नुहाइदिएको तस्वीर खिचिएको थियो । त्यस कार्यक्रमबाट उठेको रकम युनिसेफसहित विभिन्न परोपकारी संस्थालाई सहयोग गरिएको थियो ।

तस्वीर खिच्ने फोटोग्राफर जोआन मोनफोर्टका अनुसार फोटोशुट सजिलो थिएन । त्यति बेला मेसी निकै लजालु स्वभावका थिए भने यामाल पनि अपरिचित व्यक्तिसँग सहज थिएनन् । यामालकी आमा शिला एबानाको सहयोगपछि मात्रै स्वाभाविक र सम्झन लायक तस्वीर खिच्न सफल भएको थियो ।

त्यो तस्वीर वर्षौँसम्म खासै चर्चामा आएन । तर सन् २०२४ मा युरोकपका क्रममा यामालका बुबा मुनिर नस्राउईले सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि यो विश्वभर भाइरल बनेको थियो । अहिले फेरि मेसी र यामालले विश्वकप फाइनल खेल्ने भएपछि तस्वीर चर्चामा आएको हो ।

फोटोग्राफर मोनफोर्टले त्यति बेला पाँच महिनाको शिशु भविष्यमा स्पेनको सबैभन्दा ठूलो फुटबल स्टार बन्छ भन्ने कल्पना कसैले पनि नगरेको बताए । उनले अहिले दुवै जना विश्वकपको फाइनलमा आमनेसामने हुनुलाई “लट्री जितेजस्तै दुर्लभ संयोग" को संज्ञा दिएका छन् ।

यामाल अहिले बार्सिलोनामा मेसीले लामो समय लगाएको प्रतिष्ठित नम्बर १० जर्सी लगाएर खेलिरहेका छन् । विश्व फुटबलमा मेसीका सम्भावित उत्तराधिकारीका रूपमा हेरिएका यामाल र मेसीबीचको विश्वकप फाइनल खेल आइतबार मध्यराति हुनेछ ।


प्रतिक्रिया