info@nawayug.com

दुई महिनामा नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब, आयात र निर्यातमा वृद्धि

काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को दुई महिनामा ४ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि भदौसम्म ४ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।

यस अवधिको व्यापार गत आवको सोही अवधिको तुलनामा ३५.६४ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ३ खर्ब ५२ अर्ब ४७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

चालू आवको साउनदेखि भदौसम्मको अवधि वैदेशिक व्यापारमा नेपालले ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ बराबरको थियो ।

भन्सार विभागका अनुसार चालू आवको दुई महिनामा ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३१.५८ प्रतिशत बढी हो । सो अवधिमा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

चालू आवको भदौसम्म ७६ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६१.८६ प्रतिशत बढी हो । त्यसबेला ४७ अर्ब ३१ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।

प्रतिक्रिया