info@nawayug.com

रिलायन्स स्पिनिङ मिल्सद्वारा ३० प्रतिशत लाभांश वितरण घोषणा

काठमाडौं । नेपालको सबैभन्दा ठूलो निर्यातमूलक र रोजगारदाता कम्पनी रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले नेपाल स्टक एक्सेचन्ज (नेप्से) मा सूचीकरण भएको पहिलो वर्षमै ३० प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गरेको उक्त निर्णय आगामी असोज २२ गते बस्ने साधारणसभाबाट अनुमोदन भएपछि वितरण हुनेछ ।

१ अर्ब ९० करोड रुपैयाँ चुक्ता पुँजी रहेको रिलायन्सले ३० प्रतिशतको दरले हुन आउने ५७ करोड रुपैयाँ वितरण गर्नेछ । सोमबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणसमेत पारित गरेको छ ।

लाभांश वितरणलगायत निर्णय गर्नका लागि कम्पनीले आगामी असोज २२ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साधारणसभा बोलाएको छ । साधारणसभा प्रयोजनको लागि आगामी असोज १४ गते एक दिनका लागि शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरिने कम्पनीले जनाएको छ ।

‘नेप्सेमा २०८३ असोज १३ गतेसम्म कारोबार भई शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी भई आएका शेयरधनीहरु साधारणसभा भाग लिन र निर्वाचनमा सहभागी हुन योग्य हुनेछन्,’ रिलायन्सले भनेको छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको रिलायन्स स्पिनिङ मिल्स नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी हो । वार्षिक ५० मिलियन अमेरिकी डलर बराबरको निर्यात गर्ने कम्पनीमा करिब ४ हजार कामदार कार्यरत छन् ।

कम्पनीले सुनसरीको खनार र दुहबीमा रहेका दुईवटा धागो कारखानाबाट कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । उद्योगका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् ।


प्रतिक्रिया