जनकपुरधाम । मधेश प्रदेशका आठवटै जिल्लाका सुरक्षा निकायलाई विपद् पूर्वतयारीका लागि उच्च सतर्कतामा राखिएको छ। सम्भावित बाढी र डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको हो।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीका अनुसार प्रदेशका सबै सुरक्षा संयन्त्रलाई विपद् व्यवस्थापनका लागि ‘स्ट्यान्डबाइ’ राखिएको छ। आठवटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई सम्भावित जोखिम क्षेत्रमा विशेष सतर्कता अपनाउन निर्देशन दिइसकिएको उनले बताए।
‘जोखिम र अति जोखिमयुक्त क्षेत्र पहिचान गरेर सबै निकायसँग समन्वय गरी सुरक्षाकर्मी परिचालन गरिएको छ,’ डीआईजी अधिकारीले भने, ‘हाम्रो मुख्य ध्यान अधिकतम सतर्कता अपनाएर जनधनको क्षति हुन नदिनुमा केन्द्रित छ।’
उनका अनुसार राजमार्गका निर्माणाधीन पुल, सडक तथा जोखिमयुक्त संरचनामा आकस्मिक बाढी आउन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै विशेष निगरानी गर्न निर्देशन दिइएको छ। साथै, प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगन्ज र जनकपुरलाई पनि उद्धारका लागि तम्तयार राखिएको छ।
यसैबीच, मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समन्वयसहित तयारी अवस्थामा रहन निर्देशन दिएको छ। बैठकले विपद्बाट हुने क्षति न्यूनीकरण गर्न तीनवटै सुरक्षा निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएको छ।
रौतहटदेखि सप्तरीसम्म बाढी र डुबानको उच्च जोखिम
मधेश प्रदेशमा रौतहट बाढी तथा डुबानको दृष्टिले सबैभन्दा बढी जोखिममा रहेको जिल्ला मानिन्छ। बागमती र लालबकैया नदीमा आउने बाढीका कारण सदरमुकाम गौर नगरपालिकासहित राजदेवी, ईशनाथ, राजपुर, बौधीमाई, गढीमाई र मौलापुर नगरपालिकाका तटीय बस्तीहरू हरेक वर्ष प्रभावित हुने गरेका छन्।
धनुषामा कमला, जलाद र औरही नदीमा बहाव बढ्दा गणेशमान चारनाथ, सबैला, सहिदनगर, कमला र विदेह नगरपालिका जोखिममा पर्ने गरेका छन्। जनकपुरधाम उपमहानगरपालिकामा भने ढल तथा निकासको अभावका कारण सहरी डुबानको समस्या देखिने गरेको छ।
सिरहा र सप्तरी पनि उच्च जोखिममा छन्। सिरहामा कमला, बलान र स्थानीय खहरे खोलाको बाढीले सिरहा नगरपालिका, कल्याणपुर, कर्जन्हा, मिर्चैया र भगवानपुर क्षेत्र प्रभावित हुने गर्छन्। सप्तरीमा सप्तकोशी नदीका साथै खाँडो, महुली, जिता र बलान खोलाका कारण हनुमाननगर कङ्कालिनी, तिलाठी कोइलाडी, छिन्नमस्ता र राजविराज आसपासका बस्ती डुबानको जोखिममा छन्।
त्यसैगरी, सर्लाहीमा बागमती, लखनदेई र मनुसमारा नदीका कारण बरहथवा, बलरा, गोडैता, कौडेना र बसबरिया क्षेत्र जोखिममा पर्ने गरेका छन्।
महोत्तरी, बारा र पर्सामा भने मुख्य रूपमा चुरे क्षेत्रबाट बग्ने खोलामा आउने आकस्मिक बाढी र कटानको त्रास छ। महोत्तरीमा रातु, मडाहा, बिग्ही र अङ्कुशी नदीको कटानले जलेश्वर, मटिहानी, बलवा, मनरा सिसवा र एकडारा क्षेत्र प्रभावित हुने गरेका छन्। बारामा पसाहा, दुधौरा, बालगङ्गा र तिलावे नदीको आकस्मिक बाढीले कलैया र जीतपुरसिमरा उपमहानगरपालिकाका तल्लो तटीय क्षेत्र तथा परवानीपुर र देवताल गाउँपालिका जोखिममा छन्।
पर्सामा ओरिया नदीको कटानले जगरनाथपुर र धोबिनी गाउँपालिका तथा श्रीसिया र तिलावे नदीको बाढीका कारण वीरगन्ज महानगर र पोखरिया नगरपालिकाका केही क्षेत्र डुबानमा पर्ने गरेका छन्। चुरे क्षेत्रको निरन्तर दोहनका कारण खोलामा ढुङ्गा-बालुवा थुप्रिँदा सामान्य वर्षामा पनि लेदोसहितको बाढी बस्तीमा पस्ने जोखिम बढेको सुरक्षा निकायको विश्लेषण छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीमा बनेको गहिरो न्यून चापीय प्रणाली भारतको आन्ध्र प्रदेश र दक्षिण ओडिशा तट हुँदै उत्तर-पश्चिमतर्फ सरिरहेकाले नेपालमा पनि यसको प्रत्यक्ष प्रभाव परेको हो। यस प्रणालीका कारण कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com