बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार पूर्णरूपमा कार्यान्वयन हुने गरी अधिकार प्रत्यायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
संविधान दिवसका अवसरमा राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा शुक्रबार बिहान आयोजित सरसफाइ कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई दिएको अधिकार अझै पूर्णरूपमा हस्तान्तरण नभएको बताए ।
‘संविधानले दिएका अधिकार अहिले पनि प्रदेश र स्थानीय तहले पूर्णरूपमा कार्यान्वयन गर्न पाइरहेको अवस्था छैन,’ उनले भने, ‘संविधानले निर्दिष्ट गरेका अधिकार प्रदेश र स्थानीय तहलाई पूर्णरूपमा हस्तान्तरण गर्न संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले संविधानमा व्यवस्था भएका अधिकारको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । संविधानको पूर्ण कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबिच समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक रहेको उनको भनाइ थियो ।
प्रदेश सरकारले संविधान दिवसका अवसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेअनुसार प्रदेश प्रशासनिक परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । अभियानको उद्देश्य प्रशासनिक परिसरलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउनु रहेको प्रदेश सरकारले जनाएको छ ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुनायोग्य बनाउने गरी सरसफाइ, सुधार तथा संरक्षणको काम अघि बढाइएको बताए ।
उनका अनुसार प्रशासनिक परिसरलाई २३ वटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रका लागि सरसफाइ केन्द्र तोकिएको छ । सरसफाइ अभियानपछि परिसरमा फलफूलका बिरुवा रोप्ने र तिनको संरक्षणलाई समेत अभियानकै रूपमा अघि बढाइने उनले बताए ।
परिसरको सरसफाइ, सुधार तथा संरक्षणको अवस्थाको मूल्यांकन गर्न प्रदेश योजना आयोगका सचिवको नेतृत्वमा मूल्यांकन टोलीसमेत गठन गरिएको प्रमुख सचिव कुँवरले जानकारी दिए ।
मूल्यांकनका आधारमा उत्कृष्ट काम गर्ने क्षेत्रलाई पुरस्कृत गर्ने योजना रहेको उनले बताए । प्रशासनिक परिसरको सुधार तथा संरक्षणको कामलाई निरन्तरता दिँदै स्वच्छ, व्यवस्थित र आकर्षक परिसर निर्माणमा जोड दिइने उनको भनाइ थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com