info@nawayug.com

डलर सटहीमा हुण्डीको खेल, गुप्तचरी कारबाहीपछि खुल्यो यस्तो धन्दा

काठमाडौं । गुप्तचरी सूचना संकलन, विश्लेषण तथा कारवाही प्रक्रियामा सक्रियता बढाएको राष्ट्रिय अनुसन्धान विभागले हुण्डीको ‘नाभीमै’ प्रहार गरेको छ ।

बिहीबार अनामगरस्थित किम्ची रेष्टुरेण्टबाट पक्राउ गरेका हुण्डी कारोबारीलाई राष्ट्रिय राजनीतिमा कहलिएका केही व्यक्तिको प्रत्यक्ष संरक्षण रहेको र सहुलियत दरमा विदेशी डलरको सटही हुनेजस्ता कुराको खुलासा भएको प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जनाएका छन्।

अनुसन्धान विभागको टोलीसँग प्रहरी परिसरको टोलीले संयुक्त रुपमा चलाएको उक्त अपरेशपछि उनीहरु पक्राउ परेका हुन् । एक महिनादेखिको सुक्ष्म अनुसन्धानपछि अर्घाखाँची, सन्धिखर्क नगरपालिका-२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्सा, वीरगञ्ज महानगरपालिका- २१ का ४० वर्षीय प्रवेश महतो पक्राउ परेका हुन् ।

प्रायः किम्ची रेष्टुरेण्टको दोस्रो र तेस्रो तलामा रहेका क्याबिनलाई उनीहरुले कारोबारस्थलका रुपमा प्रयोग गर्दै आएका थिए । अनुसन्धानरत एक प्रहरीका अनुसार उनीहरुले विदेशी डलरको ६० प्रतिशत भुक्तानी हात पारेपछि नेपालमा रहेका मानिसलाई शतप्रतिशत नेपाली रुपैयाँ दिने गरेका थिए ।

एक करोड रुपैयाँको कारोबारमा ६० हजार बराबरको अमेरिकी डलर हात परेपछि ४० प्रतिशत छूटमा कारोबार गर्दै आएका थिए । त्यसो गर्दा स्वदेशी र विदेशी रकमको अपचलन हुँदै आएको ती प्रहरीले जनाएका छन् ।

उनीहरुले विदेशबाट भनिएका विभिन्न बैंक खातामा रकम ट्रान्सफर गर्ने गरेका थिए । विभिन्न व्यक्तिको नागरिकता र बैंक खाता खोल्न आवश्यक पर्ने कागजात संकलन गरी खाता खोल्ने र ती नामका खाताबाट विदेशबाट भनिएका खातामा रकम जाने गरेको थियो । त्यसरी विदेशबाट भनिएको भन्दा ४० प्रतिशत रकम घटाएर उनीहरुले ट्रान्सफर गर्ने गरेका थिए । त्यसो गर्नका लागि उनीहरुले उच्चपदस्थ व्यक्तिहरुको सहयोग एवं संरक्षण प्राप्त गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

त्यस्तो कारोबार वैधानिक आम्दानीबाट सम्भव नहुने कारण आम्दानीका स्रोतको पनि खोजी हुने भएको छ । उनीहरुका विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया