info@nawayug.com

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेट, संसद् सञ्चालनबारे छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच शुक्रबार राष्ट्रपति भवनमा भेटवार्ता भएको छ। भेटमा संसद्को अधिवेशन आह्वान, संसद्को नियमित सञ्चालन तथा अन्य समसामयिक विषयमा छलफल भएको छ।

भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराए।

त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले राष्ट्रपति पौडेललाई जानकारी गराए।

भेटमा संसद्को अधिवेशन आह्वान गरी संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो। सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी गराए।

यसैगरी, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभाका पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखको सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि अर्यालले जानकारी गराए।

भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताए। संसद्मा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारले गरेका कामकारबाहीका विषयमा समेत चासो राखे।

भेटमा अन्य समसामयिक विषयमा समेत छलफल भएको थियो।

प्रतिक्रिया