info@nawayug.com

सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सुनसरी । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।

गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका एसपी विपिन रेग्मी, सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईं, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उपसचिव शालिग्राम भण्डारी तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछाने सदस्य सचिव रहेका छन्।

समितिलाई घटनाको विस्तृत छानबिन गरी एक साताभित्र सरकारलाई प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। साथै यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक सुझावसमेत प्रतिवेदनमा समावेश गर्न निर्देशन दिइएको छ।

देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

घटनापछि गृहमन्त्री सुधन गुरुङले सोमबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए। सोही छलफलको निष्कर्षअनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो।

प्रतिक्रिया