टोकियो । दक्षिण कोरियाको एक अदालतले देशको सैन्य सेवा कानुन उल्लङ्घन गरेको अभियोगमा दोषी ठहर गर्दै के-पप गायक सोङ मिन-होलाई एक वर्षको निलम्बित जेल सजाय सुनाएको छ।
३३ वर्षीय गायक तथा चर्चित बोइ ब्यान्ड ‘विन्नर’ का सदस्य सोङले सन् २०२३ देखि २०२४ सम्म सोउलस्थित एक कम्युनिटी सेन्टरमा सामाजिक कार्यकर्ताका रूपमा कार्यरत रहँदा पटक-पटक काममा गैरहाजिर भएको पाइएको थियो।
दक्षिण कोरियामा शारीरिक रूपमा सक्षम सबै पुरुषले कम्तीमा १८ महिना अनिवार्य सैन्य सेवा गर्नुपर्ने कानुनी व्यवस्था छ। यद्यपि, स्वास्थ्य समस्या वा अन्य कारणले केही व्यक्तिहरूलाई वैकल्पिक रूपमा सामाजिक सेवा क्षेत्रमा खटाइने गरिन्छ।
अदालतले बिहीबार सुनाएको एक वर्षको जेल सजायलाई दुई वर्षका लागि निलम्बन गरिएको छ। यसको अर्थ दुई वर्षको परीक्षण कालमा कुनै नयाँ अपराध नगरेमा उनले जेल जानुपर्ने छैन। मञ्चमा ‘मिनो’ नामले परिचित सोङले सामाजिक सेवा एजेन्टका रूपमा बिताएको २१ महिनाको अवधिमा १०२ पटक बिनास्वीकृति गैरहाजिर भएको अदालतसमक्ष पुष्टि भएको थियो।
सैन्य सेवा निष्ठापूर्वक पालना गर्नुपर्ने कर्तव्य भएको र सामाजिक सेवाका एजेन्टहरू पनि यस नियमबाट अलग नरहने अदालतले स्पष्ट पारेको छ। तर, सोङले आफ्ना गल्ती स्वीकार गर्दै पश्चात्ताप व्यक्त गरेकाले सजाय निलम्बन गरिएको अदालतले जनाएको छ। सन् २०२४ मा उनको सेवा अवधि सकिएलगत्तै स्थानीय सञ्चारमाध्यमहरूले उनी काममा नियमित उपस्थित नभएको र अत्यधिक बिरामी बिदा लिएको खबर सार्वजनिक गरेपछि अधिकारीहरूले छानबिन सुरु गरेका थिए।
सोङलाई ड्युटी छल्न सघाएको र उनी काममा उपस्थित भएको देखाउन नक्कली कागजात तथा रेकर्ड तयार पारेको अभियोगमा उनका सुपरभाइजरलाई पनि अदालतले निलम्बित जेल सजाय सुनाएको छ। दक्षिण कोरियामा कलाकार तथा चर्चित हस्तीहरूको सैन्य सेवा सधैँ राष्ट्रिय बहसको विषय बन्दै आएको छ।
यसअघि ‘ग्याङ्नम स्टाइल’ का गायक साइले पहिलो सैन्य सेवाका क्रममा आफ्नो साङ्गीतिक गतिविधि जारी राखेर ड्युटीमा बेवास्ता गरेको अदालतको ठहरपछि सन् २००३ र २००७ गरी दुई पटक अनिवार्य सैन्य सेवा गर्नुपरेको थियो। त्यस्तै, १९९० को दशकका चर्चित पप स्टार स्टिभ युले सन् २००२ मा सैन्य सेवा छल्नका लागि देशको नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएपछि दक्षिण कोरियाली सरकारले उनलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको थियो।
द्रुत गतिमा अघि बढ्ने दक्षिण कोरियाली मनोरञ्जन उद्योगमा सैन्य सेवाका लागि काम रोक्नु कलाकारहरूको करियरका लागि ठूलो चुनौती मानिन्छ। तर, सेवा छल्न खोज्दा सार्वजनिक आलोचनाका साथै गम्भीर कानुनी कारबाही भोग्नुपर्ने हुन्छ।
बिहीबारको फैसलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोङले आफ्ना गल्तीप्रति दुःख व्यक्त गर्दै आफूलाई माया गर्ने प्रशंसकहरूसँग क्षमा मागेका थिए। तर, उनले अनिवार्य सैन्य सेवा पूरा गर्न पुनः भर्ना हुने वा नहुने भन्ने प्रश्नको भने कुनै जवाफ दिएका छैनन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com