काठमाडाैं । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणका नयाँ दिल्लीस्थित होटल ताज महल पुगेका छन्।
प्रधानमन्त्री शाह इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलमा पुग्दा स्वागत गरिएको हो। उनी होटल ताज महलमै बस्नेछन्।
भारतको दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री शाह सोमबार अपराह्न नयाँ दिल्ली पुगेका हुन्। उनलाई विमानस्थलमा भारतको उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा विभिन्न झाँकी प्रस्तुत गरिएको थियो।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकारलगायत छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन्। त्यस्तै, भारतीय समकक्षी मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका छ।
भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन गर्ने कार्यक्रम छ। यस्तै, नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा दुवै देशका उच्च सरकारी नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानवसंशाधन विकासजस्ता विषय समेटिएका विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने कार्यक्रम छ।
प्रधानमन्त्री शाह भारतको राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किनेछन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com