info@nawayug.com

बर्डफ्लु संक्रमणबारे समयमै जानकारी नदिँदा प्रमुख साहमाथि कारबाही

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु (एच–फाइभ एन–वान) संक्रमण पुष्टि भएको विषय समयमै राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को केन्द्रीय कार्यालयलाई जानकारी नगराएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहमाथि छानबिन सुरु गरिएको छ।

कोषकी अध्यक्ष तथा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको निर्देशनपछि साहलाई चिडियाखाना प्रमुखको जिम्मेवारीबाट हटाइएको छ। साथै, संक्रमणको कारण र घटनासम्बन्धी तथ्य पत्ता लगाउन कोषले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

कोषकी प्रवक्ता तथा प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा गठित समितिमा प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभाग प्रमुख डा. मधु क्षेत्री सदस्य रहेका छन्। समितिलाई एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

वन्यजन्तुको सुरक्षा र संवेदनशील सूचनाको व्यवस्थापनमा लापरवाही गरेको आरोपमा साहलाई केन्द्रीय कार्यालयमा तानिएको हो। उनको स्थानमा वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।

पशु सेवा विभागमा गरिएको परीक्षणबाट चिडियाखानाका विभिन्न जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो। चिडियाखानामा करिब १० दिनअघि देखि पन्छी तथा जनावरहरू मर्न थाले पनि त्यसबारे केन्द्रीय कार्यालयलाई जानकारी नदिइएको बताइएको छ।

परीक्षणका क्रममा बकुल्ला, लाटोकोसेरो, गिद्ध लगायतका चराचुरुंगी तथा नीरबिरालो र चरीबाघमा समेत बर्डफ्लु संक्रमण फेला परेको थियो।

संक्रमणका कारण वन्यजन्तुहरू मरेको लामो समयसम्म जानकारी नदिइएको तथा पछिल्लो समय चिडियाखानामा भएका विभिन्न घटनामा पनि प्रभावकारी रिपोर्टिङ नभएको भन्दै कोषले साहमाथि विभागीय अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया