info@nawayug.com

मध्यपूर्व तनावले ३८ नेपालीको शव स्वदेश ल्याउन ढिलाइ

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुँदा विभिन्न देशमा मृत्यु भएका ३८ नेपाली नागरिकको शव अझै स्वदेश ल्याउन सकिएको छैन । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर क्षेत्रीले इजरायल, अमेरिका र इरानबीचको द्वन्द्वका कारण उडान अनियमित हुँदा शव ल्याउने प्रक्रिया प्रभावित भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १/१ गरी कुल ३८ शव नेपाल ल्याउन बाँकी रहेका छन् । विभिन्न समयमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन सरकारले आवश्यक प्रक्रिया अघि बढाइसकेको र कामलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको पनि उहाँले बताउनुभयो ।

मन्त्रालयका अनुसार मध्यपूर्वको हालको द्वन्द्वमा परी हालसम्म एक नेपालीको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । असहज अवस्थामा रहेका नेपालीहरूको तथ्याङ्क सङ्कलन तथा सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमार्फत हालसम्म ८६ हजार ४२० जनाले विवरण दर्ता गराएका छन् ।

प्रवक्ता क्षेत्रीले पछिल्लो समय आफू असुरक्षित रहेको जानकारी गराउने नेपालीहरूको सङ्ख्या क्रमशः घट्दै गएको पनि बताउनुभयो । साथै, ट्रान्जिटमा अलपत्र परेका सबै नेपालीको व्यवस्थापन भइसकेको जानकारी दिँदै कुवेतमा रहेका दुई नेपालीले साउदी अरबको भिसा पाए पनि उनीहरू आफ्नै इच्छाले हाल कुवेतमै बसेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया