info@nawayug.com

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतङ्कवादलाई प्रायोजन गर्ने देशहरूको सूची’ बाट हटायो

अमेरिकाले ४७ वर्षपछि सिरियालाई ‘आतङ्कवादलाई प्रायोजन गर्ने देशहरूको सूची’ बाट हटाएको छ । अमेरिकाले सन् १९७९ देखि सिरियालाई यो सूचीमा राखेको थियो ।

अमेरिकी प्रशासनले यस निर्णयको उद्देश्य सिरियामा विदेशी लगानीका लागि बाटो खोल्नु र देशलाई विश्व अर्थतन्त्रमा पुनः एकीकृत गर्नु रहेको बताएको बीबीसीले जनाएको छ ।

सिरियालाई हटाएपछि अमेरिकाको यस सूचीमा अब इरान, उत्तर कोरिया र क्युबा गरी ३ वटा देशमात्र बाँकी छन् ।

यस सूचीमा पर्दा आर्थिक प्रतिबन्धहरू तथा अमेरिकी वैदेशिक सहायता एवम् रक्षा सामग्रीको निर्यात र बिक्रीमा रोक लाग्ने गर्दछ । साथै प्रतिबन्धित देशसँग व्यापार गर्ने व्यक्ति तथा अन्य देशहरूलाई पनि कारबाहीको दायरामा ल्याउन सकिन्छ ।

भर्खरै ट्रम्प प्रशासनले सिरियाका नयाँ राष्ट्रपति अहमद अल–शारासँगको सम्पर्क पनि बढाएको छ । अल–शारा पहिले एक लडाकु सङ्गठनका नेता थिए र अमेरिकाले कुनै समय उनको टाउकोको मूल्य तोकेको थियो । उनले अल–कायदामा आबद्ध सङ्गठनको नेतृत्व गरेका छन् ।

गएको वर्ष अमेरिकाले अहमद अल–शाराको नेतृत्वमा रहेको इस्लामवादी सङ्गठन ‘तहरिर अल–शाम’ लाई आफ्नो आतङ्कवादी सङ्गठनहरूको सूचीबाट हटाएको थियो ।

अमेरिका सिरियालाई रुस वा चीनको प्रभाव क्षेत्रमा पर्न नदिई आफ्नो प्रभावमा ल्याउन चाहन्छ । तर यसमा जोखिमहरू निकै ठूला छन्, किनकि सिरिया अझै पनि सुरक्षित छैन र त्यहाँ प्रतिनिधिमूलक सरकारको अभाव छ । साथै आफ्ना छिमेकी देशहरू इजरायल र टर्कीबीच बढ्दो तनावको केन्द्रविन्दुमा पनि सिरिया नै रहेको छ ।

प्रतिक्रिया