info@nawayug.com

दशौँ राष्ट्रिय खेलकुद आजदेखि औपचारिक रूपमा सुरु, ३२ खेलमा ११ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं। बहुप्रतिक्षित दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलहरू आजदेखि औपचारिक रूपमा सुरु भएका छन्। प्रतियोगिताको भव्य उद्घाटन आगामी मंसिर १६ गते तय भए पनि खेलाडीहरूको सहजता र व्यवस्थापनलाई ध्यानमा राख्दै केही खेलहरू तोकिएको मितिभन्दा अगावै सञ्चालनमा ल्याइएको हो।

आज पहिलो दिन पाँचवटा खेलमा प्रतिस्पर्धा हुँदैछ, जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी समावेश छन्। विभिन्न विधाका खेलाडीहरू पहिले नै सुर्खेत पुगी तयारी पूरा गरिसकेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार यस महाकुम्भमा कुल ३२ खेलहरू समावेश गरिएको छ। जसमध्ये अधिकांश अर्थात् २३ वटा खेलहरू कर्णाली प्रदेशको राजधानी सुर्खेतमै केन्द्रित रहनेछन्। बाँकी ९ खेलहरू भने कर्णालीका सल्यान, दैलेख, कालीकोट, जुम्ला र रुकुम पश्चिमका साथै छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा सञ्चालन हुनेछन्।

प्रतियोगितामा सातवटै प्रदेश, तीनवटा विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टिमहरूको सहभागिता रहनेछ। यस प्रतियोगितामा ३८४ इभेन्ट्सका लागि १ हजार ३३७ पदका लागि कडा प्रतिस्पर्धा हुनेछ।

यस वर्षको संस्करणदेखि एउटा ऐतिहासिक निर्णय गर्दै रजत र कांस्य पदक विजेता खेलाडीहरूलाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ, जसले खेलाडीहरूको मनोबल अझ उच्च बनाएको छ।

प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित नविनर्निर्मित कर्णाली प्रदेश रंगशालामा हुनेछ भने सबै प्रतिस्पर्धाको समापन मंसिर २७ गते हुनेछ।

प्रतिक्रिया