info@nawayug.com

‘राष्ट्रिय ट्रमा नीति’ बनाउन सांसद कार्कीको माग

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले राष्ट्रिय ट्रमा नीति तत्काल निर्माण गर्न सरकारसँग माग गरेकी छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले उक्त माग गरेकी हुन्। सडक दुर्घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको पीडालाई सम्बोधन गर्न पनि सरकारले उक्त नीति निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने सांसद कार्कीको भनाइ थियो।


उनले सडक बनाउने तर नागरिकलाई सडक दुर्घटनाबाट बचाउन नसक्ने हो भने सरकार नैतिक तथा नीतिगत दुवै रूपमा असफल भएको हुने तथ्य पनि उल्लेख गरिन्।

सांसद कार्कीले भनिन्, ‘राज्यले कर उठाउँछ, सडक बनाउँछ, तर आफ्ना नागरिकलाई सडकमा मर्नबाट जोगाउन सकेन भने त्यो केवल प्रशासनिक कमजोरी मात्रै होइन, त्यो राज्यको नैतिक र नीतिगत पराजय हुनेछ ।’

उनले अगाडि थपिन्, ‘अघिल्ला सरकारले के गरे, कसो गरेरु कहाँ चुके भन्नेकुरा हामीलाई थाहा छैन, तर नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्। अब पनि फाइल अड्कियो, निर्देशिका थन्कियो भनेर हामीलाई पन्छिने छुट छैन। त्यसैले अब हामीले भन्न सक्नु पर्दछ नेपाली जनतालाई, तपाईँहरूले कोभिडको खोप त लगाउनुभयो, तर दिनहुँ सडकमा भइरहेका अघोषित महामारी रोक्नका लागि नीतिगत खोप यो सरकारले दिन्छ, हामी दिन्छौँ। हामीले यो भन्न सक्नु पर्दछ। त्यसैले म अनुरोध गर्दछु–आजैबाट हामीले राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थाल्यौँ भने भविष्यमा हुने ठूलो दुर्घटनाहरू र थुप्रै ज्यानहरूलाई हामी मर्नबाट जोगाउन सक्छौँ।’

सांसद कार्कीले वर्तमान सरकारसँग नागरिकको आशा र भरोसाबाट पन्छिने छुट नभएको कुरामा समेत जोड दिएकी छन्।

 

प्रतिक्रिया