हेटौँडा । रसुवामा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना सहयोग पुर्याउन मकवानपुरको कैलाश गाउँपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि कैलाश गाउँपालिकाले स्थानीय सरकारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विपद्का बेला पीडा कुनै एउटा ठाउँ वा समुदायको मात्र नभई सबैको साझा पीडा हुने भएकाले मानवीय सहयोगका लागि गाउँपालिका अघि सरेको बताए।“रसुवामा बाढीका कारण नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको छ। यस्तो दुःखद अवस्थामा कैलाश गाउँपालिका पीडित नागरिकको साथमा छ। स्थानीय सरकारको नाताले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छौँ,”अध्यक्ष मुक्तानले भने।
उनले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापना लागि सरकारका तीनै तह, सामाजिक संघसंस्था तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।
विपद्मा परेकालाई सहयोग गर्नु मानवीय दायित्वसमेत भएकाले गाउँपालिकाले आफ्नो क्षमताअनुसार सहयोग गर्न लागेको उनको भनाइ छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीका अनुसार पाँच लाख रुपैयाँ एकमुष्ट रूपमा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत र सहयोग आवश्यक पर्ने भएकाले सहयोग रकम बाढीपीडितसम्म पुग्ने विश्वास उनले व्यक्त गरिन्। खत्रीले गाउँपालिकाका कर्मचारीहरूबाट समेत स्वेच्छिक रूपमा रकम संकलन गरी बाढीपीडितका लागि सहयोग गरिने जानकारी दिइन्।
कैलाश गाउँपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग गर्न सरकारी निकाय, सामाजिक संघसंस्था, निजी क्षेत्र तथा आम नागरिकलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेको छ। बाढी प्रभावित क्षेत्रमा कैलाश गाउँपालिकाका नागरिकसमेत रहेको गाउँपालिकाले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com