info@nawayug.com

आज गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना गर्ने भक्तजनको लाम

काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउन बिहानैदेखि भक्तजनको लाम लागेको हो ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्राईले बताए।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । यस वर्ष यो पर्व मङ्गलबारकै दिन परेकोले यसको विशेष महत्व रहेको छ ।

यस अवसरमा विसं २०६५ देखि राष्ट्रिय धर्मसभा नेपालले विभिन्न कार्यक्रम गरी गणेश चतुर्थी पर्व मनाउँदै आएको छ । आज विभिन्न गणेश मन्दिरमा पूजा आराधनाका साथ प्रवचन कार्यक्रम आयोजना गरिएको धर्मसभाका अध्यक्ष प्रा. डा. माधव भट्टराईले जानकारी दिए ।

यस अवसरमा आज विभिन्न गणेश मन्दिरमा पुगी संस्थाका तर्फबाट गणेशको पूजा आराधना गर्ने कायृक्रम रहेको उनले सुनाए । राष्ट्रिय धर्मसभाले २०६५ सालदेखि नै गणेश रथयात्रा गर्दै आएको छ । रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ । यस वर्ष भाद्र शुक्ल पञ्चमी पनि आजकै दिन परेको समितिले जनाएको छ । त्यसैकारण गणेश रथयात्रा पनि आजै गरिँदै छ ।

प्रतिक्रिया