info@nawayug.com

श्रीलंकन बलरलाई टाउकोले हानेपछि जैसवाल आईसीसीको कारबाहीमा

कोलोम्बो । खेलको मर्यादा विपरीत आचारसंहिताको ‘लेभल १’ उलङ्घन गरेको पुष्टि भएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले भारतीय ब्याटर यजश्वी जैसवाललाई कारबाही गरेको छ । श्रीलंकाको कोलम्बोमा जारी दोस्रो टेस्ट म्याचको पहिलो दिन श्रीलंकन फास्ट बलर असिथा फर्नान्डो र जैसवालबीच मैदानमा घम्साघम्सी भएको थियो ।

खेलको क्रममा फर्नान्डोले जैसवाललाई आउट गरेपछि उनीहरुबीच मैदानमै भनाभन भएको थियो । उनीहरुबीचको नोकझोंक भनाभनमै सीमित भएन, आउट भएको झोंकमा जैसवालले फर्नान्डोलाई टाउकोले धक्का (हेडबट) दिएका थिए । क्रिकेटमा बलर र ब्याटरबीचको भनाभनलाई सामान्य रुपमा लिइए पनि आईसीसीले यस्ता शारीरिक धक्कालाई निकै नै गम्भीर रुपमा लिन्छ ।

आइसीसीको यही आचारसंहिता उल्लघन गरेको पुष्टि भएपछि जैसवाल कारबाहीमा परेका हुन् । उनलाई आईसीसीले म्याचफीको २५ प्रतिशत जरिवाना र उनको रेकर्डमा एक डिमेरिट अंक थप्ने निर्णय गरेको छ ।

जैसवालसँगै फर्नान्डोलाई पनि कारबाही गरिएको जनाइएको छ । दुवै खेलाडीलाई आईसीसीको आचारसंहिताको धारा २.१२ उल्लंघन गरेकोमा दोषी पाइएको थियो । यस धाराले अन्तर्राष्ट्रिय खेलका क्रममा कुनै पनि खेलाडी, खेल सहयोगी कर्मचारी(सपोर्ट स्टाफ), अम्पायर, म्याच रेफ्री वा अन्य कुनै पनि व्यक्तिसँग हुने अनुपयुक्त शारीरिक धक्कालाई अपराध सोसरह मान्छ । यस्तो व्यवहारलाई निकै अशिष्ट र गम्भीर मानिन्छ । यही कारण दुवै खेलाडी कारबाहीमा परेका हुन् ।

उनीहरूमाथि थपिएको डिमेरिट अंक अनुशासनसँग सम्बन्धित छ । आईसीसीले खेलका क्रममा अनुशासन कायम राख्नलाई बनाएको नेगेटिभ मार्किङ प्रणाली नै डिमेरिट प्रणाली हो । यो एक प्रकारको चेतावनी जस्तै हो, जुन चेतावनी खेलाडीको रेकर्डमा २४ महिनासम्म रहन्छ । यदि अंक थपिँदै ४ वा सोभन्दा माथि पुगेमा उसले एक टेस्ट वा २ ओडीआई र टी–२० खेल्न पाउँदैन ।

भारतीय ओपनर ब्याटर जैसवालको व्यवहारले कोलम्बोमा भारतीय टोलीलाई केही दबाबमा पारेको छ । अहिले भारत र श्रीलंकाबीच दोस्रो टेस्ट म्याचको दोस्रो दिनको खेल जारी छ ।

प्रतिक्रिया