हेटौंडा । पछिल्लो समय मकवानपुरमा व्यावसायिक ड्रागन फ्रुट खेती गर्ने किसानहरूको संख्या बढ्दै गएको छ। जिल्लाका ५० भन्दा बढी किसानले व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गरिरहेका छन्। उत्पादन बढे पनि बजारीकरणमा समस्या देखिन थालेपछि नेपालमै पहिलो पटक हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव सुरु गरिएको छ।
‘उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय ड्रागन फ्रुट’ भन्ने नारासहित सुरु भएको महोत्सवमा किसानहरूले आफ्नै उत्पादन सिधै बिक्री गरिरहेका छन्। बजारमा प्रतिकिलो ५०० रुपैयाँसम्म पर्ने ड्रागन फ्रुट महोत्सवमा प्रतिकिलो २ सय रुपैँया देखि २६० रुपैयाँमै बिक्री भइरहेको छ। यसले किसानलाई उचित बजार र उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय फल उपलब्ध गराएको छ।
प्रदेश कृषि थोक बजार सञ्चालक समितिको आयोजनामा सुरु भएको महोत्सवमा हेटौँडा उपमहानगरपालिका र बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्य रहेको छ। महोत्सवको मुख्य उद्देश्य ड्रागन फ्रुटको बजारीकरणमा सहयोग गर्नुका साथै हालै सञ्चालनमा आएको प्रदेश कृषि थोक बजार को प्रवर्द्धन गर्नु पनि हो।
बागमती प्रदेश सरकारको ७० प्रतिशत र हेटौँडा उपमहानगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा निर्माण भएको प्रदेश कृषि थोक बजारले प्रदेशभरका कृषकले उत्पादन गरेका फलफूल, तरकारी तथा अन्य कृषि उपजको संकलन, भण्डारण र बजारीकरणका लागि महत्वपूर्ण केन्द्रका रूपमा काम गर्न थालेको छ।
किसान र उपभोक्ताबीचको दूरी घटाउँदै बिचौलियामुक्त कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षासहित आयोजना गरिएको महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन र कृषकको आय वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com