काठमाडौं । सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ ।
सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जिआइएमडब्लुएस) अन्तर्गत सुरु गरिएको यस पहलले विशेषगरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको छ ।
विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार अब सरकारी वेबसाइटहरू किबोर्डको प्रयोगबाट मात्र पनि सहजरूपमा सञ्चालन गर्न सकिनेछ । यस व्यवस्थाअन्तर्गत प्रयोगकर्ताले माउस प्रयोग नगरीकनै वेबसाइटको सम्पूर्ण भागमा पहुँच पाउनेछन् । साथै वेबसाइटमा ‘स्किप नेभिगेसन’ लिंकको व्यवस्था गरिएकाले किबोर्ड तथा स्क्रिन रिडर प्रयोग गर्ने व्यक्तिहरूले अनावश्यक नेभिगेसन सामग्री छोडेर सिधै मुख्य विषयवस्तुमा जान सक्ने सुविधा प्राप्त गर्नेछन् ।
विभागले वेबसाइटमा राखिएका सबै महत्त्वपूर्ण तस्बिर, लोगो, चिह्न तथा सेवासम्बन्धी तस्बिरहरूमा ‘अल्ट टेक्स्ट’ समावेश गरेको छ । यसले गर्दा स्क्रिन रिडर प्रयोगकर्तालाई सामग्रीको प्रकृति बुझ्न सहज हुनेछ ।
त्यस्तै फाराम भर्ने क्रममा आउने त्रुटि सन्देश र सुझावहरू पनि अब सजिलै सुन्न र बुझ्न सकिने गरी परिमार्जन गरिएको छ । सर्च र सम्पर्क फारामजस्ता सबै इनपुट क्षेत्रमा स्पष्ट नाम र चिह्न राखिएकाले स्क्रिन रिडर प्रयोगकर्तालाई थप सहजता हुने विभागले जनाएको छ ।
किबोर्ड प्रयोगकर्ताका लागि वेबसाइटभित्र आफू कुन स्थानमा छु भन्ने कुरा स्पष्ट देखिने गरी दृश्य संकेतहरू पनि समावेश गरिएको छ । फाराम पेश गरेपछि प्राप्त हुने सन्देशहरू समेत स्क्रिन रिडरले सजिलै पहिचान गर्न सक्ने गरी व्यवस्था मिलाइएको छ । यी सुधारहरू सामान्य प्रयोगकर्ताका लागि प्रत्यक्ष रूपमा धेरै नदेखिए पनि सहायक प्रविधिमा निर्भर व्यक्तिहरूका लागि भने अत्यन्त उपयोगी हुनेछन् ।
महानिर्देशक साहले यस्ता पहुँचमैत्री सुधारहरूले सबै नागरिकलाई समान रूपमा डिजिटल सेवामा पहुँच पुर्याउने लक्ष्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । यस कदमले समावेशी र प्रविधिमैत्री शासन प्रणाली निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com