info@nawayug.com

१५औँ साफ च्याम्पियनसिपको लोगो सार्वजनिक

काठमाण्डौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले १५औँ संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक गरेको छ ।

प्रतियोगिता आयोजनाको तयारीअन्तर्गत बङ्गलादेशको राजधानी ढाकामा आज आयोजित एक विशेष कार्यक्रममा साफ च्याम्पियनसिपको लोगो अनावरण गरिएको हो । दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कात्तिक १८ देखि मंसिर १ गतेसम्म बङ्गलादेशको ढाकामा आयोजना हुँदैछ ।

साफले यसअघि नै प्रतियोगिताको मिति र आयोजक राष्ट्रको औपचारिक घोषणा गरिसकेको छ । यसैबीच साफका महासचिव पुरुषोत्तम कट्टेलले फिफा विश्वकप २०२६ सम्पन्न भएलगत्तै साफ च्याम्पियनसिपको तयारी अघि बढ्नु दक्षिण एसियाली फुटबल समर्थकका लागि उत्साहजनक भएको बताउनुभएको छ ।

प्रतियोगितामा सहभागी हुने टोली निर्धारणका लागि गरिने गोलाप्रथा आउँदो साउन १६ गते भुटानको राजधानी थिम्पुमा आयोजना गरिने साफले जनाएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण साफ च्याम्पियनसिपमा नेपालको सहभागिता भने अनिश्चित छ । फिफाबाट अखिल नेपाल फुटबल संघ ९एन्फा० निलम्बित रहेकाले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन ।

प्रतियोगिता शुरु हुनुअघि निलम्बन फुकुवा भएमा मात्र नेपाली टोलीले साफ च्याम्पियनसिप खेल्न पाउने सम्भावना रहनेछ । अहिलेसम्म प्रतियोगिताका १४ संस्करण सम्पन्न हुँदा भारत सर्वाधिक नौपटक च्याम्पियन बनेको छ ।

प्रतिक्रिया