काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज विभिन्न धातुका नयाँ भाँडाकुँडा तथा सुनचाँदीका गरगहना किनेर मनाइँदैछ। धार्मिक मान्यताअनुसार यस दिन नयाँ भाँडाकुँडा घरमा भित्र्याउँदा धनकी देवी लक्ष्मीको स्थायी बास हुने विश्वास गरिन्छ।
धनतेरसका अवसरमा आज बिहानैदेखि भाँडा पसल तथा सुनचाँदीका पसलमा ग्राहकको चहलपहल बढेको छ। तामा, पित्तललगायत धातुबाट बनेका भाँडाकुँडा खरिद गर्ने परम्परा रहेकाले व्यापारीहरूले एक साताअघिदेखि नै पसलमा विभिन्न सामग्री सजाएर राखेका छन्।
धनतेरसलाई धन त्रयोदशी र भाण्ड त्रयोदशीका नामलेसमेत चिनिन्छ। यस दिन खरिद गरिएका भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गर्ने धार्मिक परम्परा छ। आज धनका अधिपति कुबेरको जन्मदिनका रूपमा पनि विशेष पूजाआराधना गर्ने चलन छ।
यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न पार्ने उद्देश्यले घरका सदस्य सङ्ख्याअनुसार यमदीप दान गर्ने परम्परा छ। यसरी दीपदान गर्दा यमयातनाबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् प्रा। तोयराज नेपालले जानकारी दिनुभयो।
दीपावली, तिहार तथा यमपञ्चकका नामले परिचित यो पर्व नेपालीको दसैँपछिको दोस्रो ठूलो चाडका रूपमा मनाइन्छ। आजदेखि कार्तिक शुक्ल द्वितीयासम्म घर तथा व्यापारिक प्रतिष्ठानमा दीप प्रज्वलन गरी झिलिमिली बनाउने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने शनिबार परेको छ। धनवन्तरी जयन्ती पनि शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com